शनिबार, फागुन ९, २०८२

यस्ता छन् काँग्रेस संसदीय दलको बैठकका निर्णय

मेरोन्यूज २०८१ असार २२ गते १८:१६

काठमाडौँ ।  नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेसँग भएको सहमतिको स्वागत र समर्थन गरेको हो ।
कांग्रेसका निर्णयहरु: 
१- नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ ।
२- नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय के.पी. शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।
३- नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेको हुँदा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग गर्नु भएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ । 
४- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो, डुवानले गर्दा नागरिकको जनजीवन कष्टकर भएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न यो बैठक नेपाल सरकारसँग आग्रह गर्दछ । बाढी, पहिरो र डुवानका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्न नेपाली कांग्रेसका सबै साथीहरु, भातृ र शुभेच्छुक संस्थाका साथीहरुलाई यो बैठक आग्रह गर्दछ ।  
 

प्रतिक्रिया