बिहीबार, माघ २९, २०८२

धानमा फेद कुहिने रोग

मेरोन्यूज २०८१ साउन १७ गते १८:०४

ढोरपाटन (बागलुङ) । बागलुङमा धानमा फेद कुहिने रोग देखिएको छ । सो रोगले धानको बोट मर्न थालेपछि किसान निराश बनेका छन् । धान रापेको एक महिनामै फेद कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका छन् । धानको फेद कुहिने डाँठ पहेँलो भएर सुक्ने गरेको छ । धान गोड्ने बेलामा फेद कुहिन थालेपछि कृषि ज्ञान केन्द्रबाट प्राविधिकको टोलीनै खटिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लाको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको ठूलो क्षेत्रमा लगाइएको धानबाली कुहिएर नष्ट नहुन थालेको हो । किसानले धान कुहिएर नष्ट हुन थालेपछि कृषि ज्ञान केन्द्रलाई गुहारेका छन् । प्राविधिकको टोली खेतमै पुगेर रोगको पत्ता लगाई नियन्त्रण गर्न थालिएको कृषि ज्ञान केन्द्र बागलुङका बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिए । धान मर्न थालेको किसानको गुनासो आएपछि नियन्त्रणमा लागेको उनले बताए । बागलुङ नगरपालिका–१२, १३ र १४ र जैमिनी नगरपालिकाको अधिकांश क्षेत्रमा फेद कुहिने रोग लागेको छ ।

रोगको पहिचान भएपछि किसानलाई ढुसीनाशक विषादी ‘कार्वन्डा’ प्रयोगका लागि सुझाएको भन्दै यो गरो नियन्त्रणका लागि पालिकासँग समन्वय गरेर लागेको उनि बताउछन् । रोग नियन्त्रणका लागि एक रोपनी जग्गामा २५ देखि ३० लिटर कार्वन्डा हाल्नुपर्ने अधिकारीले जानकारी दिए । यस रोगको समाधान नभए उत्पादनमा ५० प्रतिशत ह्रास आउने उनि बताउछन् ।

उनले भने, “किसानको गुनासो आएपछि हामी सम्बन्धित ठाउँमा पुगेर अध्ययन गरिरहेका छौँ, जहाँ पुगेका छौँ, त्यो ठाउँमा एकै नाशको लक्षण देखिएको छ, यो फेद कुहिने रोग हो, बलेवा, पैयूँपाटा, सिगाना क्षेत्रमा बढी देखिएको छ, जैमिनीको ५० प्रतिशत क्षेत्रमा लगाएको धानमा यो समस्या छ, रोग समयमै नियन्त्रण भएन भने उत्पादनमा धेरै गिरावट आउने देखिन्छ ।”

गत असार दोस्रो साता लगाएको धान अहिले पूरै मर्न थालेको बागलुङ नगरपालिका–१२ का प्रेमप्रसाद शर्मा पौडेलले बताए । फेद कुहिने रोगले धान सखाप भएको र यसको समाधान नभए बिउसमेत जोगाउन मुस्किल पर्ने उनको भनाइ छ । एक हप्ता अगाडिसम्म पानी लगाउँदै आएको र राम्रोसँग जाग्दै गएपछि केही दिनदेखि कुहिने समस्या आएको पौडेल बताउछन् । धेरै वर्षपछि धानमा यो समस्या देखिएको उनले बताए ।

प्रतिक्रिया