आइतबार, वैशाख २०, २०८३

जुम्लामा ७९६ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

मेरोन्यूज २०८१ साउन २० गते २१:५६

जुम्ला।  गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका सात सय ९६ जनाले जन्म र मृत्युको बेला दिइने २० केजी चामल प्राप्त गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका अनुसार जन्मतर्फ तीन सय ३४ र मुत्युतर्फ ३२ जनाले मन्सुली चाम लिएका छन्।

Advertisement
NiccNicc

त्यस्तै अरुवा मध्यम चामल लिनेमा जन्मतर्फ तीन सय २१, मुत्युतर्फ २३ जना छन्। कार्यालयका अनुसार अरुवा मोटा चामल लिनेमा जन्मतर्फ ४८ र मुत्युतर्फ दुई जना छन्। अरुवा मकावनपुर चामल भने जन्ममा ३०,  मुत्युतर्फ पाँच जनाले लिएका कार्यालयका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिए।

उनका अनुसार जन्म र मृत्यु हुँदा गत आवमा ९ लाख ५९ हजार नौ सय ८० बराबरको एक सय ५९ क्विन्टल चालम वितरण भएको छ। उनले चामल उपलब्ध गराउँदा ज्यालामा भने तीन लाख ८८ हजार पाँच सय खर्च भएको बताए।

उक्त सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ।

उक्त कार्यक्रमअन्तर्गत पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाबासीले २० किलो चामल र पाँच सय ज्याला पाउँछन्। त्यसै गरी हिमा, सिञ्जा, तिला र कनकासुन्दरी गाउँपालिकाबासीले २० किलो चामल र एक हजार ज्याला पाउने गरेको कार्यालय प्रमुख सन्तोष तिवारीले बताए। तिला गाउँपालिका– १ का स्थानीय सुनिता रावतले उक्त अनुदानले ठूलो राहत हुने गरेको बताइन्।

२०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क २० किलो चामल दिने घोषणा गरेको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा हाल कार्यालयमा १४ सय क्विन्टल चामल मौन्दात रहेको जनाएको छ। भदौ दोस्रो सातासम्मका लागि चामल पुग्ने भएकाले सहज रुपमा वितरण गरिने सूचना अधिकारी शर्माले बताए। 

प्रतिक्रिया