चिकित्सक हत्यामा विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

कोलकाता । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रूर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि शहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।
अगस्त ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ ।
उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हड्ताल गरेका छन् । बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हड्ताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरिन् ।
बैठकपछि उनले पत्रकारहरूसँग भनिन्, ‘हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौं ।’
जुनियर चिकित्सकहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइनेछ ।
मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको हड्तालले आपत्कालीन सञ्चालन प्रभावित भएको बताइन् ।
तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ, तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।
‘हामी केही विन्दुमा सहमत भएका छौं, तर असहमति कायमै छ’, महतोले भने । पीडितलाई न्यायको माग गर्दै सोमबार हजारौं प्रदर्शनकारीले शहरका सडकहरूमा नारा लगाउँदै जुलुस निकालेका थिए ।
हत्याको क्रूरताले ‘मुलुकको अन्तरात्मालाई आघात’ पुर्याएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ गर्ने भनेर जाँच गर्न एक राष्ट्रिय कार्यदललाई आदेश दिएको थियो ।
आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको सामूहिक बलात्कार र हत्यासँग गर्न थालिएको छ ।
दिल्ली घटना प्रमुख राजनीतिक मुद्दा बन्यो र निर्वाचनहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)को सफलतामा एक कारकका रूपमा हेरियो ।
भाजपा मुलुकभरमा सत्तारूढ पार्टी हो, तर पश्चिम बङ्गाल राज्य सरकारको नेतृत्व अखिल भारतीय तृणमूल काङ्ग्रेससँग छ ।















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया