शनिबार, चैत २१, २०८२

विमल कृति पुरस्कार ‘शब्दथुम’ लाई

मेरोन्यूज २०८१ कार्तिक १५ गते २०:०६

धरान (सुनसरी) । ‘विमल कृति पुरस्कार-२०८०’ पुरस्कार इलामका स्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गरिने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कवि विमल गुरुङ स्मृति पुस्तकालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी दिएको हो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कात्तिक २४ गते हुने ३३औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा रु. दुई लाख राशीको विमल कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामा निर्णायक समितिको सिफारिसअनुसार साहित्यकार थाम्सुहाङको निबन्ध कृतिलाई प्रदान गर्ने निर्णय गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले बताए । 

उपाध्यक्ष मेन्याङ्वोका अनुसार, शब्दथुमभित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको बताए । कात्तिक २४ गते हुने राष्ट्रिय कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः नगद रु. २१ हजार, रु. १८ हजार र रु. १७ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

साहित्यसँगै पत्रकारिता क्षेत्रमा सक्रिय रहेका विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान प्रदान गरिने पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताए । धरानका १०३ वर्षीया दिलमाया गुरुङ, सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र वीरेन गुरुङलाई  सम्मान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया