मंगलबार, चैत ३, २०८२

सरकारी जागीरसँगै कालिजपालन

मेरोन्यूज २०८१ कार्तिक २० गते १४:२२

ढोरपाटन(बागलुङ) । यहाँको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले छ वर्षदेखि कालिजपालन गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हुनुहुन्छ । उनि कार्यालय बाहेकका समय कालिज फार्ममा खटिन्छन् । कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गर्नु भएको थियो । रु २४ हजारमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म रु २५ लाख बढी लगानी गरिसकेका छन् ।

कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहेका छन् । रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उनि दङ्ग छन् । कँडेलले छ वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थाल्नुभएको हो । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनि बताउछन् । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए।

“केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चार वटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइँन”, उनले भने, “पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यस पछि व्यावसायिक गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।”

कोभिड–१९को महामारीका बेला एकै पटक पाँच सय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नु पर्यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए। कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् । भाले कालिजलाई रु दुई हजार पाँच सय र पोथी कालिजलाई रु एक हजार पाँच सयमा बिक्री गर्दै आएको उनि बताउछन् । दसैँमा तीन सय वटा कालिज बिक्री भयो । हाल फार्ममा सात सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए।

एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया