मंगलबार, चैत ३, २०८२

जग्गा वर्गीकरण नटुङ्ग्याउँदा राजस्व संकलनमा असर

मेरोन्यूज २०८१ कार्तिक २८ गते १३:४१

तनहुँ । यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व संकलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व संकलनमा कमी आएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवसीयमा राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन”, उनले भने, “कार्यपालिका बैठकले आगामी मङ्ङिसरभित्र वगीृकरण टुङ्ग्याउने योजना बनाएको छ ।” नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व सङ्कलनमा कमी आएको गैरेले बताए । 

दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिए । धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ”, उनले भने, “जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ ।”

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म  रु आठ करोड ७८ लाख ९६ हजार सात सय १४ राजस्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु छ करोड २८ लाख ६८ हजार पाँच सय ४९ गरेको छ । गत आवको तुलनामा चालु आवमा रु दुई करोड ५० लाख २८ हजार एक सय ६५ राजस्व सङ्कलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया