हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा

मुस्ताङ ।पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ ।
हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो ।
जिल्लामा हिमचितुवाको यकिन तथ्याङ्क छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको उपल्लो मुस्ताङमा हिमचितुवाले चरन क्षेत्र, खर्क र पशु गोठमै पसेर पशुधनको क्षति गरिदिँदा उपल्लो मुस्ताङका पशुपालक किसानको व्यवसाय नै लोप हुने खतरा बढेको हो ।
जलवायु परिवर्तनले हिमाली उच्च लेकमा चरन क्षेत्र साँघुरिँदै जान थालेको, चरन क्षेत्रमा घाँस पलाउन छाडेको र घाँसको खोजीमा हिमचितुवाको मुख्य आहार नाउर बस्ती तल झर्ने गरेको पाइएको छ । हिमालकी रानी हिमचितुवा आहारको खोजीमा नाउरलाई पछ्याउँदै बस्तीसम्म आइपुग्दा घरपालुवा पशुचौपाया क्षति हुने जोखिम बढेको हो । तर संरक्षिणविद्हरूले हिमचितुवा सडक र बस्तीमा झर्नुमा फरकफरक भनाइ राख्ने गरेका छन् ।
पछिल्लो दुई वर्षयता उपल्लो मुस्ताङमा हिमचितुवा सडक र बस्ती नजिक देखिन थालेका छन् । गत वर्ष मुस्ताङमा दुईवटा हिमचितुवा कागबेनी गाउँ नजिकै देखापरेको थियो । हिमचितुवा दिनदहाडै सडक र बस्तीमा देखिन थालेपछि स्थानीय पशुपालकले पालन गरेका घरपालुवा घोडा, खच्चड, याकचौँरी, भेडा-च्याङ्ग्रालगायतमा क्षति हुने जोखिम बढेको हो ।
दुई वर्षअघि लोघेकर दामोदरकुण्ड–२ ढाक्मरमा स्थानीय किसान मिङमार गुरुङको ७९ वटा च्याङ्ग्रा हिमचितुवाले आक्रमण गरी मार्याे । तारबारसमेत लगाइएको च्याङ्ग्रा गोठमा जाली नाघेर चारवटा हिमचितुवा खोरमा पसेर गुरुङको ठूलो सङ्ख्यामा च्याङ्ग्रा क्षति भयो ।
यस्तै, चालु वर्ष फागुनको पहिलो हप्ता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ समरका स्थानीय पशुपालक नवीनकुमार गुरुङको गोठमा रहेको ३३ वटा च्याङ्ग्रामध्ये चारवटा हिमचितुवाको आक्रमणमा परे ।
नवीन र मिङ्मार केवल प्रतिनिधि पात्रमात्र हुन् । मुस्ताङमा हिमचितुवाले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका दर्जनौँ पशुपालक किसानलाई हिमचितुवा र अन्य वन्यजन्तुले पशुधनमा क्षति तुल्याउने गरेको छ । यसैका कारण मुस्ताङमा घरपालुवा पशुपालन व्यवसायमा हिमचितुवा र वन्यजन्तुको थप जोखिम बढेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले चालु आर्थिक वर्षको १० महिनामा हिमचितुवाले १३ वटा पशुधनमा क्षति तुल्याएको बताएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार चालु आव २०८१–८२ को साउनदेखि माघ मसान्तसम्ममा तीनवटा घोडा, छवटा च्याङ्ग्रा र चारवटा याकलाई हिमचितुवाले आक्रमण गरी क्षति बनाएको जानकारी दिए ।
यसैगरी गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका विभिन्न पशुपालक किसानको कुल एक सय ८० वटा पशुधनमा हिमचितुवाले क्षति बनाएको छ । एक्याप कार्यालय लोमान्थाङको रेकर्डअनुसार गत वर्ष घोडा १४, च्याङ्ग्रा एक सय ५४ र भेडा १२ वटालाई हिमचितुवाले मारेको थियो । मुस्ताङमा आव २०७९–८० मा मुस्ताङका पाँचवटै पालिका गरी १३ घरपरिवारका ६५ पशुधनमा क्षति भएको थियो ।
जिल्लाको पुर्ख्यौली व्यवसायका रूपमा याकचौँरी, घोडा र भेडाच्याङ्ग्रा पालन गर्ने गरिएको छ । यो यहाँको आर्थिक व्यवसायका रूपमा मात्र सीमित छैन, हिमाली संस्कृतिसँग पनि जोडिएको छ । यसरी पालन गरिएका याकचौँरी र भेडाच्याङ्ग्रा पशुपालक किसानलाई एक्याप कार्यालयले आवश्यक प्रक्रिया मार्फत नियमानुसार राहत वितरण गर्ने गरेको छ । तर, एक्यापले वन्यजन्तु क्षतिको राहत वितरण गर्ने गरेको भए पनि उपल्लो मुस्ताङका पशुपालकले राहतका लागि एक्यापको सम्पर्क आउनेको सङ्ख्या कम भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ ।
एक्याप लोमान्थाङअन्तर्गत उपल्लो मुस्ताङका वन्यजन्तु पीडितले दुई वर्षयता राहत पाउन नसके पनि एक्याप जोमसोम कार्यालयले भने वन्यजन्तुपीडितलाई निरन्तर क्षति राहत वितरण गर्दै आइरहेको छ ।
पशुधनको क्षति भएमा एक्याप कार्यालयको रोहबर, प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थितिमा क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ ।
एक्यापले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिका, २०८० कार्यान्वयनमा ल्याएको छ ।
वन्यजन्तुपीडितलाई राहत वितरण गर्ने प्रक्रियालाई सहज र व्यवस्थित गर्ने उद्देश्यले कार्यान्वयनमा आएको नयाँ निर्देशिकाले पशुपालक किसानलाई राहत उपलब्ध गराउन टेवा पुग्ने एक्यापको भनाइ छ ।















‘Bandit’ attack in central Nigeria kills 20
रास्वपा सचिवालय बैठक सुरु, सभापति लामिछाने भर्चुअल रूपमा उपस्थित
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री
Samsung Unveils Galaxy Buds4 Pro: Redefining Premium Wireless Audio with AI-Powered Innovation
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया