‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि.सं. २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज विहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्पण गरेका हुन् । सुखानीका सहिदहरुको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरुले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन् ।
झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरुको शालिक निर्माण गरिएका छन् । ती शालिकहरुमा पनि नेकपा एमाले लगायतका कम्युनिस्ट पार्टीहरुले श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेका छन् । मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन राजबंशी स्मृति प्रतिष्ठानमा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य रविन कोइरालाको नेतृत्वमा एमालेले स्मृति सभा सम्पन्न गरेको छ ।
प्रतिष्ठान परिसरमा सहिद वीरेन राजबंशीको शालिक स्थापना गरिएको छ । कार्यक्रममा सहिद वीरेन राजबंशीका जेठा छोरा नेत्र राजबंशी, जेठी बुहारी बिमला राजबंशी, सहिद परिवारका सदस्य कुमार मेचे र झापा विद्रोहमा १७ वर्ष कठोर काराबास भोग्नु भएको कम्युनिस्ट योद्धा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियो । सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं. २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो ।
















राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया