नसर्ने रोगको पहिचानका लागि सांसदहरुको स्वास्थ्य परीक्षण

काठमाडौं । सरकारले नसर्ने रोगहरुको पहिचानका लागि संघीय सांसदहरुको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।
नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान अन्तर्गत मंगलवार संघीय संसद परिसरमा सरकारले सांसदहरुको स्वास्थ्य परीक्षण गरेको हो । समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ भन्ने नारासहित सरकारले यो अभियान शुरु गरेको हो । सरकारले फागुन महिनाभर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान शुरु गरेको थियो ।
अभियानमा स्थानीय स्वास्थ्य संस्थामा ३० वर्षमाथिका नागरिकको परीक्षण भइरहेको छ । अभियानअन्तर्गत उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौल निःशुल्क जाँच गरिएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति,योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अधिकांश नेपाली नागरिक विभिन्न प्रकारका नसर्ने रोगहरुबाट पीडित रहेको बताए ।
उनले नेपालको स्वास्थ्य उपचारमा विगतमा अधिकांश राज्यको लगानी सरुवा रोगहरुमा हुने गरेको भएपनि पछिल्लो समय नसर्ने रोगहरुका लागि लगानी गर्नुपरेको बताए । नसर्ने रोगहरु दीर्घ प्रकृतिका हुने र लामो समयसम्म यसको असर रहने उनको भनाइ छ । उनका काअनुसार दीर्घ प्रकृतिका रोगले शरीरका विभिन्न अंगलाई प्रताडित गराउने र काम गर्न नसक्ने बताउने जटिलता बढी हुने गर्दछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई वार्षिक रुपमा नसर्ने रोगहरुको पहिचान गर्न प्रारम्भिक परीक्षणको शुरुवात गरेको हो । यसमा तौल नाप्ने, उचाईअनुसार शरीरको बीएमआई नाप गर्ने, रक्तचापको नाप गर्ने, रगतमा चिनीको मात्रा नाप्ने र पिसावमा अल्गोमिन र सुगर लगायतका सामान्य परीक्षण देशभर नै सरकारले फागुन महिनामा सञ्चालन गरिरहेको छ ।
संघीय संसदका सांसद, सचिवालयका कर्मचारी, सञ्चारकर्मीहरुलाई मध्यनजर गरेर फागुन २७ र २८ गते संसद भवन परिसरमा नसर्ने रोगहरुको परीक्षण अभियान सञ्चालन गरिएको डा. पौडेलले बताए । संसदमा आज र भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म परीक्षण हुनेछ । पब्लिक हेल्थमा गरिने वकालतलाई पनि यस अभियानले सहयोग पुग्ने विश्वास राखेको प्रमुख डा. पौडेलले बताए ।
संसद भवन परिसरमा यस अभियानबारे बोल्दै सांसद ईश्वरी घर्तीमगरले नसर्ने रोगहरुको पहिचान गर्न नागरिकस्तरमा पुग्ने गरी सरकारले सञ्चालन गरेको यस अभियानको प्रशंसा गरिन् । उनले निःशुल्क परीक्षण गर्ने भएकाले सबैले परीक्षण गर्न र समयमै रोगको पहिचान गरेर उपचार गर्ने बाटो समात्न आग्रह गरिन् । यस्तो सुविधा सबै गाउँ बस्तीमा पुग्नुपर्ने सांसद घर्तीमगरको भनाइ छ ।
यस्तै, सांसद रञ्जु झाले नसर्ने रोगहरु पहिचान गर्न सञ्चालन गरिएको अभियान राम्रो भएको प्रतिक्रिया दिइन्। उनले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यको ध्यान राख्नुपर्नेमा जोड दिइन् ।
सांसद देवप्रसाद तिमलसेनाले स्वास्थ्य मन्त्रालयले गरेको कामको प्रशंसा गर्दै विपन्न बस्ती र गाउँमँ पुगेर नसर्ने रोगहरुको पहिचानका लागि निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न सुझाव दिए ।
त्यस्तै सांसद दिलेन्द्रप्रसाद बडूले गाउँका स्वास्थ्यचौकीहरु मार्फत यसरी परीक्षण शुरु गर्नुपर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबका हरेक वर्षहरुको फागुन महिनालाई नसर्ने रोग परीक्षणको महिना बनाइने बताए । पौडेलले यसको सूचना व्यापक रुपमा फैलाउन नसक्दा केही समस्या भइरहेको बताउँदै अब सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।
स्वास्थ्यमन्त्री पौडेलले नेपालका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क परीक्षण गर्न सकिने पनि बताए ।
प्रतिक्रिया