शुक्रबार, वैशाख २५, २०८३

पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट

मेरोन्यूज २०८२ वैशाख २ गते २१:२३

वीरगञ्ज । पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा चार कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालु आवको चैत २५ गतेसम्मको अवधिमा एक लाख ३३ हजार चार सय ७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो ।

Advertisement
NiccNicc

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा साझेदारी वन अतिक्रमण गरेर गाँजाखेती हुने सूचनाको आधारमा निरन्तर रूपमा गाँजाको बोटको फँडानी गरेर नष्ट गर्दै आइरहेको बताए । “नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको सहकार्यमा गाँजाको फँडानी गर्दै आइरहेका छौँ”, उनले भने ।

पर्सा प्रहरीका अनुसार विगत तीन वर्षको अवधिमा गाँजाको बरामद हुने क्रममा पनि वृद्धि भएको जनाएको छ । पर्सा प्रहरीले आव २०७९र८० मा एक हजार एक सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो । त्यस्तै आव २०८०र८१ मा चार सय ६७ किलोग्राम र आव २०८१र८२ को फागुन मसान्तसम्मको अवधिमा भने एक हजार ५३१ किलोग्राम गाँजा बरामद गरेको छ । मकवानपुर तथा तराईका अन्य जिल्लाबाट ल्याएको गाँजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गर्दछ ।

प्रतिक्रिया