तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा । यहाँको गोरखा नगरपालिका-७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छिन्। उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छिन्।
मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी लिने गरेको कोइराला बताउँछिन्। ‘११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ। अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु’, उनले भनिन्।
तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउँछिन्। मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा छन्। जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा छन्।
‘कान्छी छोरी काठमाडौं डेन्टल पढ्छे। छोरो यो वर्ष कक्षा ९ मा पुग्यो’, उनले भनिन्, ‘मेरो कमाइले छोरा छोरी पढाउन, घरखर्च चलाउन पुग्छ। जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन।’
यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ। काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ। ‘बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरुको ‘सिजन’ सुरु हुन्छ। त्यसपछि प्याजको बीउ तयार गर्छु’, उनी भन्छिन्, ‘विषादी प्रयोग गर्दिनँ।’
उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन। जब उनले तरकारी खेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरुले उनकै सिको गरे। उनी महिलाहरुले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमानको कमाइमा निर्भर हुनु नपर्ने बताउँछिन्।
उनले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिएकी छैनन्। उनी भन्छिन्, ‘म आफूले जे जति सक्छु गर्छु। अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन।’ उनको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो।
व्यापारीहरु तरकारी लिन मीनाको बारीमै पुग्छन्। पहिलेजस्तो बजारको समस्या नभएको उनको अनुभव छ। गोरखा नगरपालिका-७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताए।













सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
प्रतिक्रिया