आइतबार, वैशाख २०, २०८३

एचआइडिसियलका प्रमुख कार्यकारी अधिकृत थापाद्वारा शपथग्रहण

मेरोन्यूज २०८२ जेठ १६ गते १७:१३

काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Advertisement
NiccNicc

एचआइडिसिएलको बिहीबारको सञ्चालक समितिको बैठकले कम्पनीको सिइओमा नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत थापाले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथग्रहण लिएका हुन् ।

उनलाई कम्पनीका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथग्रहण गराएका हुन् । नवनियुक्त सिइओ थापा मेकानिकल इञ्जिनियर हुन् । उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । पाँच जना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै थापालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

त्यस अवसरमा ऊर्जामन्त्री खड्काले निश्चित लक्ष्य र उद्देश्य लिएर स्थापना भएको उक्त संस्थाले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। जलविद्युत् क्षेत्रमा आउने लगानीलाई एचआइडिसिएलले आफ्नो कम्पनीमार्फत लगानी गर्ने गरी कार्य योजना बनाएर अगाडि बनाउनुपर्ने बताए ।

एचआइडिसिएल सरकारी संस्था भएकाले २५ मेगावाटभन्दा ठूला आयोजना मात्र नभई समस्यामा परेका साना जलविद्युत् आयोजनालाई पनि वित्तीय सहयोग गर्नुपर्ने मन्त्री खड्काले बताए । सचिव आचार्यले सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई पूरा गर्न एचआइडिसिएलको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले समयअनुसार संस्थाको ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया