शुक्रबार, फागुन २२, २०८२

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

मेरोन्यूज २०८२ जेठ २४ गते १४:१६

सिरहा । सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्ने छ ।

Advertisement
nepal life insurencenepal life insurence

सडक सुरु हुने बित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठूलो फरक पर्ने व्यवसायीको भनाइ छ । स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए । पहाडको उत्पादन तराईतर्फ र तराईको उत्पादन पहाड पठाउन सजिलो हुने उनको भनाइ छ ।

युवा तथा खेलकुद विकासमन्त्री एवं सप्तरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तेजुलाल चौधरीले सडक निर्माण कार्यको शिलान्यास शुक्रबार गरेका थिए । उनले सहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारी साधन आवागमनमा सहजताका लागि नयाँ ट्रयाक खोल्न थालिएको बताए ।

मन्त्री चौधरीले पहाडबाट सिधैँ तराई आउनेका लागि कल्याणपुर बजार राम्रो गन्तव्य बन्ने बताए । यहाँका स्थानीयका लागि आफ्नै व्यापार र कृषि उत्पादनका सामग्री सजिलै ओसारपसार गरी आयआर्जन बढाउन सक्ने उनको भनाइ छ ।

चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु आठ करोड ४५ लाख २० हजार ८५० बजेटबाट मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँले रु चार कारोड ४० लाख नौ हजार ४३९ भ्याटसहित ठेक्का सम्झौता गरेको छ । विसं २०८२ वैशाख २५ गते सम्झौता भई असार ३० गतेसम्म कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर चन्द्रकान्त चौधरीले जानकारी दिए ।

उहाँले सडकमा पर्ने रूख काट्न वन कार्यालयले स्वीकृति समयमा नदिँदा सडक निर्माण कार्य बढाउन ढिलाइ भएको बताए । वन कार्यालयले सडकमा पर्ने रुख काट्न स्वीकृति दिएसँगै सडक निर्माण कार्य तीव्रता पाएको छ । मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँका प्रतिनिधि इञ्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको सडकको ट्रयाक खुल्न लागेको हो ।

उनका अनुसार अहिले नयाँ ट्रयाक खोल्ने र सडकलाई बाढीपहिरोबाट बचाउन पलम कन्ट्रिक वाल, गाविन र कच्ची नाला निर्माणको काम हुने छ । उनले भने, ‘हामी तीव्र गतिमा सडकको ट्रयाक खाल्ने काम गरी रहेका छौँ, मौसमले साथ दिए समयमै काम सकाउने छौं ।’

नयाँ सडकको ट्रयाक खुल्ने भएपछि स्थानीय खुसी भएका छन् । कल्याणपुर बजारका सञ्जु चौधरीले भने, ‘ट्रयाक खोल्ने काम सकिए लगतै समयमा नै सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरिदियो भने हामी फिलिली घरबाट छोटो समयमा गाईघाट पुग्ने छौं ।

प्रतिक्रिया