आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा राष्ट्रपतिबाट शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका नेपाली भाषीबीच भाषिक एकता कायम गर्न मद्दत गरेको ऐतिहासिक तथ्यलाई पनि हामी सबैले मनन गर्नुपर्ने बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा उनलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि कामना गरेका छन् ।
“भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन र यसलाई अझ समुन्नत तुल्याई नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनका निम्ति अतुलनीय योगदान पुर्याएको पाइन्छ”, राष्ट्रपतिको सन्देशमा भनिएको छ, “नेपाली कविताका आदिकवि र भाषाका प्रवर्द्धक भानुभक्तलाई नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा पनि चिनिन्छ ।”
भानुभक्त आचार्यले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको संस्कृत भाषाको वाल्मीकि रामायण नेपाली साहित्यसँग सरोकार राख्ने सबैको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच जनचेतनाको विकास तथा भावनात्मक एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निभाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।
भानुभक्तीय रामायण नेपाली भाषा लिपिको प्रवर्द्धन गर्ने तथा धर्म, कर्तव्य, निष्ठा, सेवाभाव आदि विषयलाई मानवीय जीवनमा उपयोग गर्न सहयोग पुर्याउने रचना भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । भानुभक्तको जन्मस्थललाई साहित्यिक तथा आदिकविको ऐतिहासिक सांस्कृतिकस्थलका रूपमा विकास गर्न सकेमा नै उनप्रति हाम्रो सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले उल्लेख गरे ।
उनले भानुभक्त आचार्यलाई सम्मानका साथ स्मरण गर्दै सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै भाषा संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन सम्पूर्ण नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूद्वारा विविध कार्यक्रमहरू आयोजना गरी भानु जयन्ती मनाउने गरिन्छ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया