तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत

विराटनगर। सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको अनुभव नभए पनि तीन वर्षअघि उनले सुरु गरेको तरुलखेतीबाट अहिले २२ जनाको जीविकोपार्जन सुनिश्चित बनेको हो ।
खेमराजले सुन्दरहरैँचा–७ को ७५ बिघा भन्ने ठाउँमा तीन बिघा जमिन भाडामा लिएर सुरु गरेका हुन् । “जिन्दगीमा खेतीको नाममा केही पनि जानकारी थिएन, तर तीन वर्षको प्रयासपछि तरुलखेतीबाट २२ जनालाई रोजगारी दिनुका साथै आत्मनिर्भर बनाउन सफल भएको छु”, उनले भने ।
सुकेको जमिनमा नयाँ आशा
सुन्दरहरैँचा–७ को ‘७५ बिघा’ भन्ने ठाउँ वर्षौँदेखि पानीको कमी र जगङ्ली जनावारको आतङ्कले ग्रस्त थियो । धान र मकै सुक्ने, बोरिङको पानीले मात्रै पुग्ने अवस्था थिएन । “पहिले केराखेती पनि हुन्थ्यो । तर हात्तीको आतङ्कले बोटहरूमा क्षति भइरहन्थ्यो”, खेमराजले भने । त्यस्तो अवस्थामा उनले वैकल्पिक खेतीकाम रूपमा तरुल छनोट गरेको उनको भनाइ छ ।
खेमराजले भने, “साथीभाइले सुरुमा गरेको देखेपछि मलाई पनि रहर लागेर आयो । तीन बिघा जमिन भाडामा लिएर तरुल लगाएँ, आज सात बिघामा विस्तार भएको छ ।” उनीसँगै उभिएका जग्गाधनी प्रकाश उप्रेतीले भने, “पानी नै नभएर सबै बाली सुक्थ्यो । पूर्वाञ्चल विश्वविद्यालय बनेपछि बाटोको छेउ परेपछि झन पानी आउने विकल्प नै रोकियो । तर तरुल भने सुकेको जमिनमा पनि उत्पादन हुँदो रहेछ ।” तरुलखेतीबाट प्रशस्त आम्दानी हुने देखिएपछि यहाँका किसानमा पुनः आशा पलाएको उनको भनाइ छ ।
उप्रेतीका अनुसार तरुलको एउटै बोटले तीन–पाँच किलोसम्म फल दिने, बजारमा माघेसङ्क्रान्तिसम्म माग बढ्ने भएकाले किसानको मुहारमा उत्साह देखिएको छ । सफलतासँगै जङ्गली जनावरको सास्ती भने कायम नै रहेको स्थानीय किसान बताउँछन् ।
“यस क्षेत्र कहिले बँदेल, कहिले मृग र कहिलेकाहीँ हात्ती आइरहन्छन्”, खेमराजले भने, “बँदेलले बोटै उखेलेर खाइदिन्छ । तरुल जोगियो भने सुन फल्दो रहेछ । तर जोगाउनै चुनौतीपूर्ण बनेको छ ।” उनले बिघाको ६० हजारका दरले सात बिघाको भाडा तिर्दै आएको बताए । सबै खर्च काट्दा वर्षको करिब सात लाख बचत हुने जनाउँदै उनले यहाँबाट २२ जनाले रोजगारी पाएका उल्लेख गरे । केराबालीमा रोगको समस्या बढेपछि विकल्पका रूपमा आफूले तरूलखेती रोजेको उनले जानकारी दिए ।
पहिले आफ्ना लागि मात्र रोपिने तरुल अहिले व्यावसायिक खेतीका रूपमा विस्तार हुँदै गएको छ । स्थानीय दोमट माटो, सुख्खा भू–परिवेश र अनुकूल हावापानीका कारण तरुलखेती यस क्षेत्रका लागि उपयुक्त मानिएको किसान खेमराजले बताए । धान, मकै र केरा जस्ता बालीमा हात्तीको उपद्रो बढ्दै गएपछि किसान वैकल्पिक नगदे बालीतर्फ आकर्षित भएका उनको भनाइ छ ।
“तरुलको बाक्लो झाँडीभित्र हात्ती पस्न नसक्ने भएकाले यो खेती सुरक्षित छ”, खेमराजले भने । बँदेलले भने केही नोक्सानी पु¥याउने गरेको किसानको गुनासो छ । उनका अनुसार बारीबाटै प्रतिकिलो ४५ का दरले तरुल बिक्री हुँदै आएको छ । व्यापारीहरू दैनिक गाउँगाउँमा जुटका बोरा बोकेर आउने भएकाले खनेर बोरा भर्ने मात्रै काम गर्नुपर्ने किसान खेमराजले बताए । “बिक्री नहोला कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन”, उनले भने ।
गत मङ्सिर १५ देखि पुस २७ सम्म तरुल खन्न सकिने भएकाले विशेषतः माघे सङ्क्रान्तिका लागि बढी खपत हुन्छ । सोही कारणले किसानले पुस २७ भित्र सबै तरुल बजारमा पठाउने तयारी गरेका छन् । एउटा बोटबाट करिब १० किलोसम्म उत्पादन हुने खेमराजले जानकारी दिए ।
भविष्यको सम्भावना
सिँचाइ, बजार व्यवस्थापन र जङ्गली जनावर नियन्त्रणमा स्थानीय सरकारबाट सहयोग भएमा सुन्दरहरैँचा नगरपालिका तरुलखेतीका लागि मुलुककै नमूना बन्न सक्ने किसान खेमराजको बुझाइ छ । उनका अनुसार तरुल नगदेबाली मात्र नभएर सङ्घर्ष, सम्बन्ध र सम्भावनाको प्रतिक बनेको छ ।
यहाँका किसानको पसिनाले बाँझो जमिनलाई फेरि उत्पादनशील बनाइरहेको उनले बताए । यहाँ तरुलखेती गर्ने किसानले भोगेका सङ्घर्ष, सफलताको कथा किसान र स्थानीय समाजबीचको सहकार्य, आत्मनिर्भरता र रोजगारीको मार्ग बन्दै गएको किसानको भनाइ छ । रासस
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया