पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान

तानसेन (पाल्पा)। जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीले रक्तदान गरेका छन् । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले निर्वाचन प्रहरीले रक्तदान गरेका हुन् ।
बिहानदेखि साँझसम्म निर्वाचन सुरक्षाका लागि तालिम तथा प्रशिक्षणमा खटिएका निर्वाचन प्रहरीले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
निर्वाचन सुरक्षाको जिम्मेवारीसँगै रक्तदानमार्फत बिरामीको ज्यान बचाउने पवित्र कार्यका लागि रक्तदान गरेको तालिममा सहभागी निर्वाचन प्रहरी कमल भट्टराईले बताए । उनले भने “निर्वाचन सुरक्षामा खटिन पाउँदा गौरव लागेको छ, त्यसमाथि पनि रक्तदान गरेर कसैको ज्यान बचाउन पाउँदा झनै खुसी छु ।”
निर्वाचन प्रहरीको मुख्य उद्देश्य निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो । नागरिकको सुरक्षासँगै नागरिकको जीवन बचाउनु प्रहरीको धर्म हो । निर्वाचन प्रहरीले देखाएको यो मानवीय भावनाले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए । निर्वाचन प्रहरीले रक्तदानमा देखाएको सक्रियताले समुदाय र प्रहरीको आपसी सहकार्यबाट शान्तिपूर्ण समाज निर्माणको बाटो देखाएको उनको भनाइ छ ।
यहाँ लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र पाल्पा अस्पताल गरी तीनवटा ठूला अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा दैनिक हुने जटिल शल्यक्रिया, सुत्केरी र विभिन्न सडक दुर्घटनाका घाइतेको उपचारका लागि रगतको माग उच्च हुने गरेको छ । जिल्लामा रगत व्यवस्थापनका लागि यहाँस्थित रेडक्रसले गत भदौदेखि तानसेनमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।
केन्द्रका अनुसार पाल्पामा दैनिक १० युनिट, मासिक तीन सय युनिट र वार्षिक रूपमा करिब तीन हजार ६०० युनिट रगत आवश्यकता पर्दछ । यस्तो अवस्थामा सुरक्षाकर्मीले गरेको यो योगदानले रगतको अभाव टार्न ठूलो सहयोग पुर्याएको जिल्ला रेडक्रसका कार्यालय प्रमुख विनोद भारतीले बताए ।
“निर्वाचन प्रहरीले रगतको अभावमा छट्पटाइरहेका बिरामीका लागि ‘जीवनदाता’ बनेर नयाँ पहिचान बनाएका छन् । यहाँका २५ जना निर्वाचन प्रहरीले रक्तदान गरेका हुन्”, उनले भने ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया