शुक्रबार, वैशाख २५, २०८३

क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून

मेरोन्यूज २०८३ वैशाख २५ गते १६:३१

स्पेनतर्फ गइरहेको एक क्रुज जहाजमा घातक हान्ताभाइरस सङ्क्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सर्वसाधारणमा यसको जोखिम अत्यन्त कम रहेको जनाएको छ । सङ्गठनले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यतः अत्यन्त नजिकको सम्पर्कबाट मात्र फैलिने भएकाले व्यापक महामारीको खतरा नरहेको स्पष्ट पारेको छ ।

Advertisement
NiccNicc

डब्लुएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा हान्ताभाइरस गम्भीर र घातक हुन सक्ने भए पनि यसको सङ्क्रमण क्षमता सीमित रहेको बताए । उनका अनुसार यो भाइरस सङ्क्रमित व्यक्तिको अत्यन्त नजिकमा लामो समय बस्ने मानिसहरूमा मात्र सर्ने सम्भावना बढी हुन्छ ।

हाल स्पेनको टेनेरिफ टापुतर्फ गइरहेको एमभी होन्डियस नामक क्रुज जहाजमा देखिएको सङ्क्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ । जहाजमा हालसम्म तीन यात्रुको मृत्यु भइसकेको छ भने डब्लुएचओको पछिल्लो विवरणअनुसार पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । थप तीन जनामा सङ्क्रमणको आशङ्का गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी जारी रहेको जनाइएको छ ।

लिन्डमेयरले सङ्क्रमित व्यक्तिसँग एउटै क्याबिनमा रहेका यात्रुहरूमा समेत सबैमा सङ्क्रमण नदेखिएको उल्लेख गर्दै भाइरस सजिलै नफैलिने तथ्यलाई जोड दिए । उनले कतिपय अवस्थामा सङ्क्रमित व्यक्तिसँग लामो समय सँगै बसेकाहरू पनि सङ्क्रमणमुक्त रहेको जानकारी दिए ।

उनका अनुसार हान्ताभाइरसको फैलावटलाई कोभिड–१९ सँग तुलना गर्न मिल्दैन । उनले यो भाइरस कोभिडजस्तो हावामार्फत तीव्र गतिमा समुदायमा फैलिने प्रकृतिको नभएको स्पष्ट पारे । त्यसैले अहिलेको अवस्थालाई लिएर अनावश्यक त्रास फैलाउन नहुने डब्लुएचओको भनाइ छ ।

डब्लुएचओले सम्पर्क पहिचान प्रक्रिया प्रभावकारी रूपमा अघि बढिरहेको जनाएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका यात्रु तथा चालक दलका सदस्यहरूलाई निगरानीमा राखिएको छ । लिन्डमेयरले नजिकको सम्पर्कमा रहेका व्यक्तिहरू पहिचान गर्न सकिने भएकाले सङ्क्रमण नियन्त्रण सम्भव रहेको बताए ।

एमभी होन्डियस क्रुज जहाजले अप्रिल १ मा अर्जेन्टिनाको दक्षिणी क्षेत्र उशुआयाबाट आफ्नो यात्रा सुरु गरेको थियो । जहाज एटलान्टिक महासागर पार गर्दै केप भर्डेतर्फ जाँदै थियो । यात्राका क्रममा जहाजले विभिन्न दुर्गम टापुहरूमा रोकिने कार्यक्रम पनि राखेको थियो ।

जहाजमा सङ्क्रमण कसरी सुरु भयो भन्नेबारे अनुसन्धान जारी छ । स्वास्थ्य अधिकारीहरूले यात्रुहरूको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित सङ्क्रमण स्रोतबारे अध्ययन गरिरहेका छन् । हाल जहाजमा रहेका अन्य यात्रुको स्वास्थ्य अवस्था निगरानीमा राखिएको बताइएको छ ।

डब्लुएचओले सदस्य राष्ट्रहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ । सङ्गठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलिन नदिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया