‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन आगामी जेठ १८ गतेदेखि प्रारम्भ हुने अनुमान गरेको छ । आगामी असोज १४ सम्म रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ ।
मनसुनजन्य विपद््का कारण मुलुकमा बर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । विपद्को वार्षिक आँकडाका आधारमा सबैभन्दा बढी विपद्का घटना र क्षति तथा नोक्सानी मनसुनको चार महिनाको अवधिमा हुने गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसुनजन्य विपद्बाट मुलुकभर तीन हजार ७४ जनाको मृत्यु भएको छ । ती घटनामा परी पाँच सय दुई जना बेपत्ता, चार हजार ७६९ जना घाइते तथा ३३ हजार १९८ घरपरिवार प्रभावित भएका छन् ।
गतवर्ष मात्रै बाढी, पहिरो, भारी वर्षा र चट्याङबाट एक सय ४० जनाको मृत्यु, ३० बेपत्ता, तीन सय घाइते तथा पाँच हजार ९९५ परिवार प्रभावित भएका थिए । जटिल भू–संरचना, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण नेपाल बहुप्रकोपको उच्च जोखिममा छ ।
मनसुनजन्य विपद्को जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । कार्ययोजनाको मस्यौदालाई पूर्णता दिन आगामी सोमबार सरोकार भएकाहरूसँग छलफल गर्न लागिएको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिए ।
मनसुनजन्य विपद््सँग जुध्न नेपाल प्रहरीसहितका सुरक्षा सङ्गठनले पूर्वतयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै मौसमजन्य विपद् प्रतिकार्यका लागि पूर्वतयारीका सम्पूर्ण कार्य भइसकेको बताउछन् ।
“विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न दक्ष र स्रोतसाधनयुक्त प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ । पहिरो जाने सम्भावित क्षेत्रको पहिचान गरिएको छ । विपद्बाट राष्ट्रिय राजमार्ग अवरोध नहोस् भनेर सतर्कता अपनाएका छौँ”, उनले भने ।
प्रहरीले हाल विभिन्न माध्यमबाट नागरिकलाई सम्भावित विपद्बारे सुसूचित गराइरहेको छ । बाढीपहिरो तथा भत्केका संरचनामा फसेका नागरिकको उद्धार, आगलागी नियन्त्रणलगायत विपद् प्रतिकार्यसम्बन्धी पूर्वाभ्यास भइसकेका छन् ।
प्रहरी नायब महानिरीक्षक काफ्लेले प्रहरीका तल्ला युनिटसम्म सम्भावित विपद्को पहिचान र प्रतिकार्यको तयारी तथा त्यसका लागि चाहिने आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको बताए ।
“नागरिकलाई ढुक्क हुन सक्ने अवस्था सिर्जना गरेका छौँ । सबै प्रदेशमा उद्धार तथा राहत सामग्री पुगिसकेका छन् । जिल्ला सुरक्षा समितिले विगतमा भएका विपद्जन्य घटनाको अभिलेखका आधारमा यसवर्ष हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरेको छ”, उनले भने ।
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले शुक्रबार बूढानीलकण्ठ नगरपालिका कपनस्थित केन्द्रीय विशेष कार्यदलमा ‘आइए ड्रिल’, हतियार खोल जोड अभ्यास तथा बन्धक बनाइएका व्यक्तिहरूको उद्धारको नमुना अभ्यास प्रदर्शनी गरेको थियो । सोही कार्यक्रममा विपद् प्रतिकार्य तथा तालिम केन्द्रको टोलीले अग्नि नियन्त्रण तथा उद्धार अभ्यास, विपद् सामग्रीको प्रदर्शनी तथा विपद् तयारी सम्बन्धमा विशेष प्रस्तुति दिएको थियो ।
















‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया