आइतबार, वैशाख २७, २०८३

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौं : सभापति लामिछाने

मेरोन्यूज २०८३ वैशाख २७ गते १८:०५

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विधि र कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement
NiccNicc

पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा आइतबरा उनले सामाजिक प्रतिष्ठालाई सफलताको मानक बनाउनेभन्दा कानुन बनाउने जिम्मेवारी लाग्न निर्देशनसमेत दिए ।

सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने प्रस्ट पारे । ‘सरकारले सोचेर कदम चालिरहेको छ, आजसम्म सरकारले गरेका निर्णयबाट दुःख मनाउन गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘कतिपय कानुन निर्माणलाई ‘फास्ट ट्र्याक’मा लिएर जान अध्यादेश ल्याइएको हो । नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय गरेका छैनौं । हामी जनताको माया र देशको भविष्यप्रति चिन्तित छौं ।’

सभापति लामिछानेले नेपाली जनताले परिवर्तनका लागि रास्वपालाई जनमत दिएको भन्दै चुनाव जित्दैमा सर्वगुण सम्पन्न छौं भनेर नसोच्न सांसदहरूलाई आग्रह गरे । उनले विगतमा अन्य राजनीतिक दलले अनवरत संघर्ष गरेर परिवर्तन ल्याएको उल्लेख गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी आफूहरूको काँधमा आएकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिए । ‘हामी जीवनी लेख्ने यात्रामा हैन, इतिहास लेख्न हिँडेका हौं । त्यसैले पार्टीमा योगदानको मूल्य माग्ने बेला भएको छैन । अब सबै मिलेर अवस्था बदल्ने क्रान्तिमा लागौं, ‘उनले भने ।

सभापति लामिछानेले सबै सुकुमवासी र भूमिहीनलाई सरकारले अधिकार दिने बताए ।
“हामीले चुनावमा गरेका वाचाअनुसार काम गर्छौं । सुकुमवासी समस्यालाई उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान गर्छौं ।संविधानको मर्मअनुसार सबैका अधिकार सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ”, उनले भने ।

प्रतिक्रिया