आइतबार, वैशाख ७, २०८२

सर्वोच्चको आदेशसँगै शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

मेरोन्यूज २०७८ भदौ २८ गते १७:०२

काठमाडौँ । लोकसेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । विं.सं. २०७६ सालमा विज्ञापन गरिएको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका नतिजा प्रकाशन स्थगित गरेको हो ।

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी दिएका आदेशका आधारमा आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृत नतिजा स्थगित गरेको हो ।

आयोगले मिति २०७६ मंसिरमा शाखा अधिकृतमा बढुवा तथा खुलासमेत गरी सामान्य प्रशासनमा ५६० रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनमध्ये ३० प्रतिशत बढुवातर्फको १६८ पद सोही वर्ष पदपूर्ति भइसकेको थियो । बाँकी खुला तथा समावेशीतर्फको ३९२ पदको परीक्षा कोभिड–१९ का कारण ढिलो हुँदै आएको थियो ।

आयोगले एक सूचना जारी गर्दै भनेको छ, ‘आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००/०७६–७७ सम्मका व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको व्यहोरा आयोगको मिति २०७८-०५-२८ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

यसअघि प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतलाई उनीहरूले रोजेको संघमा समायोजन गर्न सर्वोच्चले आदेश दिएको थियो । समायोजनमा परेका ३४ शाखा अधिकृतहरूले संघमा रिक्त दरबन्दी हुँदा पनि आफूहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्दै गत साउन २६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटको अन्तरिम आदेश दिँदै सर्वोच्चले प्रकाशित भइसकेको विज्ञापनमा उक्त संख्यामा पदपूर्ति नगर्न आदेश दिएको थियो ।

प्रतिक्रिया