माओवादी केन्द्रले बनायो निर्वाचन आयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी स्थानीय, प्रदेश तथा केन्द्रको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले विष्णुपुकार श्रेष्ठको संयाजकत्वमा २२ सदस्य पार्टीको निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचनबारेमा नीति बनाउने जिम्मा उक्त आयोगलाई दिइएको महराले जानकारी दिए ।
प्रवक्ता महराकाअनुसार स्थायी कमिटी बैठकमा पार्टीको विधान संशोधन, निर्वाचन आयोग, विभिन्न पार्टीबाट आएका नेता कार्यकर्ताको समायोजन र प्रदेशका पदाधिकारी थपघट गर्नेबारे चार वटा एजेण्डा थिए ।
पार्टीको विधान तयार भइसकेको र भाषामा केही थपघट गर्नुपर्ने र केही कुरा परिमार्जन गर्नुपर्ने भएकाले अन्तिम रुप दिने बैठकले निर्णय गरेको छ ।
यस्तै, विभिन्न ४५ वटा पार्टीबाट आएकाहरुलाई कसरी समायोजन गर्ने भन्नेबारेमा गठन भएको कार्यदलले प्रतिवेदन बुझाएको र केही बाँकी भएको हुनाले अन्तिम रुप दिन सोही कार्यदललाई जिम्मा दिइएको महराले बताए ।
प्रदेशका पदाधिकारीको थपघट गर्नेबारेमा भने थप होमवर्क गर्नुपर्ने भएकाले आजको स्थायी कमिटी बैठकमा थपघट नगरिएको पनि माओवादी केन्द्रका प्रवक्ता महराले जानकारी दिए ।
प्रतिक्रिया