बुधबार, फागुन ६, २०८२

‘आन्तरिकरूपमा पार्टी लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न सकिँदैन’

मेरोन्यूज २०७८ भदौ ३० गते १५:५३

बुटवल । नेकपा एमालेका वैचारिक नेताका रुपमा मानिने घनश्याम भुसाल एमाले अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा बढी आलोचक हुन् ।

पार्टीभित्रै रहेर पार्टी नेतृत्वको सबैभन्दा बढी आलोचना गर्ने नेता भुसाललाई ओलीले नै कृषिमन्त्रीसमेत बनाए । भुसाल बैचारिक रुपमा जति प्रष्ट मानिन्छन्, मन्त्री भएपछि भने त्यति सफलता पाउन सकेनन् ।

तत्कालिन नेकपाभित्रको द्वन्द्व चलिरहँदा सबैभन्दा बढी रडाको मच्चाउने पनि उनै भुसाल हुन् । पार्टीभित्र पार्टी बनाइरहँदा यिनै भुसाल तत्कालिन माधव नेपाल गुटको भेलामा देशब्यापी नै पुगे ।

वैचारिक नेताका रुपमा दर्ज भएकै कारण भुसालको पार्टी प्रशिक्षणमा कार्यकर्ताहरु राम्रै झुम्मिन्थे पनि ।

तत्कालिन नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि पनि भुसाल एमालेभित्रको फरक समूहका नेता थिए । तर पार्टी विभाजनमा आइपुग्दा भने उनी केपी ओली नेतृत्वकै नेकपा एमालेमा रहिरहेका छन् ।

पार्टी विभाजनपछि सम्भवतः पहिलो पटक बुधबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसाल एउटै मञ्चमा देखिए ।

त्यहि मञ्चबाट नेकपा एकाले उपमहासचिव भुसालले ओली नेतृत्वको नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भनेर चर्चा गरिरहँदा कार्यकर्ता पंक्ति पनि खुशी देखिन्थे ।

भुसालले पार्टी ठूलो भए पनि आन्तरिक रुपमा लोकतान्त्रिक हुनुपर्नेमा पनि जोड दिन भ्याए । ‘एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्छ’, भुसालले भने– ‘आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न सकिदैँन ।’ भुसालको यो संकेत पार्टी अध्यक्ष ओलीप्रति नै थियो ।

‘जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिन्छ ।’ – भुसालले भने ।

भुसालले पार्टीभित्र आफूहरुले विगतमा गरेको द्वन्द्वलाई कोट्याए । ‘एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको हो ।’

पार्टी विभाजनपछि अध्यक्ष ओली हरेक कार्यक्रममा निकै आक्रामक मात्र देखिएका छैनन्, उनले अरु सबै मिलेर आएप पनि एमाले एक्लै लडेर पनि ठूलो पार्टी हुने बताउँदै आएका छन् ।

भुसालको आशय पनि त्यहिनेर थियो । नेकपामात्र होइन एमालेसमेत विभाजित भएकाले जिम्मेवार भूमिकामा रहनुपर्ने भन्दै मात्तिने र उत्ताउलो हुने छुट कसैलाई नभएको भुसालले बताए ।

भुसालले बुद्धको पालाको गणराज्यको चर्चा गर्दै राजा आजात शत्रुको कथा पनि सुनाए । उनले बुद्धको पालाका लुम्बिनी क्षेत्रकै राजा अजात शत्रुले बज्जिकामाथि आक्रमण गर्नुभन्दा पहिले बुद्धसँग सल्लाह लिएको उदाहरण प्रस्तुत गरे । बज्जिकाहरू एकजुट भएर शत्रुमाथि आक्रमण गर्ने र कसैले परास्त नगर्ने जानकारी पाएपछि आक्रमणबाट पछि हटेको उनले सुनाए ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया