बबई नदीको फोहर पानी खानुपर्ने बाध्यताको अन्त्य हुँदै

सल्यान । जिल्लाको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण सुरुआत गरिएको छ । आयोजना निर्माणसँगै सो क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षैँदेखि बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ ।
बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयले बस्ती नजिकै रहेको सो नदीको फोहर पानी प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा धमिलो पानी प्रयोग गर्ने गरेको स्थानीय वीरबल बुढाले जानकारी दिए । “यहाँ ४०० भन्दाबढी घरधुरी छन् । खानेपानीको स्रोत नहुँदा वर्षौंदेखि यही बबईको पानीले गुजरा चलाउँदै आएका छौँ”, उनले भने । अहिले भने गाउँमा दुई खानेपानी योजना अगाडि बढ्दा स्थानीय औधी खुशी हुन थालेका छन् । आफूहरुलाई बबईको पानी धमिलो छ खाएपछि रोग लाग्छ भन्ने थाहा हुँदा पनि बाध्यताले गर्दा नदीको पानी प्रयोग गर्नुपरेको स्थानीय गीता बोहराले जानकारी दिए । “पानी धमिलो हुन्छ घर ल्याएर केही घण्टासम्म राख्दा फोहर पिँधमा थिग्रिएपछि पानी खान्छौँ के गर्नु यसको विकल्प थिएन अब भने आयोजना सम्पन्न भएपछि दुःख हट्ने भयो”, उनले भने ।
बस्तीमा आउने पानीका मुहान धेरै भए पनि कसैले चासो नदिएका कारण खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ । “यहाँ बस्तीमा आउने पानीका मुहान धेरै छन् । हामीलाई उपेक्षा गरियो”, स्थानीयवासी जीतबहादुर घर्तीले भने । गाउँमा यति धेरै घरपरिवार हुँदा पनि कतैबाट पनि समस्याको समाधानका लागि सुनुवाइ नभएको स्थानीयको भनाइ छ ।
मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत बस्तीमा ठूला खानेपानी आयोजना निर्माण गर्न लागेपछि भने स्थानीय खुशी भएका छन् । कार्यक्रमबाट १५ लाख र गाउँपालिकाको नौ लाख गरी २४ लाखको लागतमा खानेपानी योजना सुरुआत गरिएको जनाइएको छ । कार्यक्रमका जिल्ला संयोजक महेश हितांगले कार्यक्रमअन्तर्गत मुहानमै पानीको शुद्धीकरण गरी घरघरमा धारा जडान गरिने उनले बताए ।
“यस क्षेत्रमा समस्या धेरै छन् तर पनि खानेपानीको समस्या प्रमुख भएकाले हाल हामीले दुई खानेपानी आयोजना सञ्चालन गरेका छौँ यसबाट तत्काल १२७ घरमा धारा जडान गरिने तयारी गरिएको छ”, उनले भने । यस क्षेत्रमा खानेपानीको चरम संकट भएका कारण आयोजना सञ्चालन गर्नुपरेको र यसबाट स्थानीयलाई खानेपानीमा सहज पुग्ने संयोजक हितांगले जानकारी दिए ।
अहिले दुवै आयोजनामा काम धमाधम भइरहेकाले अबको तीन महिनाभित्रमा सबै घरमा धारा जडान गरिने खानेपानी निर्माण समितिका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिए । “हामीले रात दिन नभनेर आयोजनाको कामलाई अगाडि बढाइरहेका छाँै, जतिसक्दो छिटो यहाँका बासिन्दाले शुद्ध खानेपानीको प्रयोग गर्न पाउन भन्ने चाहाना छ”, उनले भने । बस्तीभित्रका सबै घरधुरीमा धारा जडान गरिने उनले जानकारी दिए । देश संघीय संरचनामा गएको चार वर्ष पूरा भइसक्दा पनि यहाँका बासिन्दाले स्थानीय सरकारको राहत महसुस गर्न पाएका छैनन् ।
“यहाँ गाउँपालिकाले दिने बजेट अत्यन्तै थोरै छ एउटा वडाभरिका योजना सञ्चालन गर्नका लागि २० लाख छ यसले खानेपानी निर्माण गर्नु कि अन्य अत्यावश्यक काम गर्नु, तर पनि मैले भने खानेपानीलाई प्राथमिकतामा राखेको छु”, कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष नयनसिंह रानाले भने । गाउँपालिकाले बजेट विनियोजनमा विभेद गरेका कारण पनि आफ्नो वडा पछि परेको उनले गुनासो गरे । रासस
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया