गलकोटेलाई पोखराका अस्पतालमा छुट

बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो ।
गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिए । उनका अनुसार छुट सुविधा सधैँका लागि हो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट उपचारका लागि जाने जो–कोहीले समाजको सिफारिसपत्रका आधारमा अस्पतालमा छुट पाउँछन् । सम्बन्धित स्थानीय तहको बासिन्दा रहेको परिचय खुल्ने कागजात लिएर आएमा सिफारिस दिने गरिएको अध्यक्ष थापाले बताए ।
“बिरामी जुनसुकै समयमा आए पनि सिफारिसपत्र दिन्छौँ, कुनै शुल्क लाग्दैन”, उनले भने, “हामीले यही अस्पतालमा आउनुस् त भन्दैनौँ, तर खोज्दै आउने बिरामीलाई उपचारमा सहजीकरण गर्छौँ ।” गाउँबाट आउने बिरामीले अर्थाभावमा उपचारमा समस्या झेलिरहेको देखेपछि समाजले छुटका लागि पहल लिएको हो । एक्स–रे, प्रयोगशाला सेवालगायतमा पनि बिरामीले छुट पाउँछन् । गरिब तथा विपन्न परिवारका बिरामीले उपचारै गर्न नसक्ने स्थितिमा समाजले आर्थिक सहायताका लागि कोषसमेत खडा गरेको छ । “पैसा नभएर उपचारबाट बञ्चित भएकालाई समाजले नगद सहयोग पनि गर्छ”, अध्यक्ष थापाले भने ।
जटिल स्वास्थ्य समस्या हुँदा यहाँका बिरामी उपचारका लागि पोखरा धाउनुपर्ने बाध्यता छ । उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल जिल्लामै रहे पनि सोहीअनुसारको उपचार सेवा उपलब्ध हुनसकेको छैन । पूर्वाधार, उपकरण र मानव संशाधन अभावमा स्थानीय अस्पतालको सेवा प्रभावकारी हुन नसकेको हो ।
पोखराजस्तो ठूलो सहरका अस्पतालले गाउँका बिरामीलाई लक्ष्य गरी छुट सुविधा दिँदा आधारभूत तहका सर्वसाधारणलाई राहत मिलेको छ । समाजले त्यहाँका अन्य अस्पतालमा पनि छुटका लागि पहल गर्ने जनाएको छ । “यो त सुरुआत मात्र हो, छुटको दर बढाउन हाम्रो निरन्तर प्रयास रहन्छ”, अध्यक्ष थापाले भने ।
















इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया