सोमबार, वैशाख ७, २०८३

कमल थापा र राजेन्द्र लिङदेनको सम्वन्ध

हिजोका चेला, आजका प्रतिस्पर्धी

रामकृष्ण अधिकारी । काठमाडौं २०७८ मंसिर १६ गते १८:४२

राप्रपाको एकता, घर-झगडा र टुटफुटको शृंखला हेर्ने हो भने वामपन्थीको भन्दा कम छैन । इतिहास हेर्ने हो भने कुनै नेतालाई शक्ति र सत्ताको भोक जाग्यो भने पनि यो पार्टी फुटिहाल्छ । पार्टी फुटनलाई कुनै कारण चाहिदैन । ४ जेठ ०४७ को स्थापनाकालदेखि यताका राप्रपाका जति पनि फुट र अन्तरकलह देखिएको छ, त्यसमा कुनै सैद्धान्तिक विवाद भएर पार्टी फुटेको भन्ने आधार देखिँदैन । राप्रपाले झेलेका फुटमा नेताका स्वार्थ र महत्त्वाकांक्षाबाहेक केही छैनन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पूर्वपञ्चहरुको पार्टी राप्रपाको पछिल्ला टुटफुट र जुट पनि मुख्यः तीन नेताको पेरिफेरिमा घुमिरहेको छ । कमल थापा, पशुपति शम्शेर जवरा र डा प्रकाशचन्द्र लोहनी । शक्ति हुँदा फुट्ने र कमजोर हुँदा जुटने राप्रपाभित्रको रोग थियो ।

संविधान निर्माणपछि राप्रपा उठ्नै नसक्ने गरी कमजोर बन्यो । शक्ति क्षीर्ण भएपछि २०७६ फागुन २४ मा यी तीन नेता (कमल थापा, पशुपति शम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी) एकै ठाँउ आएका थिए । ०७३ चैत ३० गते राप्रपाबाट छुट्टिएको लोहनी समूह र २०७४ साउन २२ गते राप्रपाबाट छुट्टिएको राणा समूह पुनः एकै ठाउँमा आइपुगेपछि तीनै जना अध्यक्ष बने । त्यसपछि अहिले राप्रपाको एकता महाधिवेशन चलिरहेको छ ।

राप्रपालाई उकास्न पनि अहिलेको नेतृत्ववाट सम्भव नहुने भन्दै राजेन्द्र लिङदेन, धबलशम्शेर राणा लगायतका नेताले पुस्ताहस्तान्तरणको एजेण्डा सहित राप्रपामा नयाँ चुनौति नेताहरुलाई थपे । ‘मोर्चावन्दी’ नै गरेर कमल थापासँग प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी खडा गरे ।

त्यसपछि फेरि राप्रपामा विभाजनको चक्र कोरिने त होइन ? प्रश्न जन्मिएका छन् ।

यो पार्टीको पार्टी जीवनको इतिहास नै त्यस्तै देखिएकोले यो खालको प्रश्न जन्मनु स्वभाविक छ । त्यहीकारण नेता कार्यकर्ता पंक्तिमा देखिएको त्रासले नै हुनुपर्छ -राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेपछि कमल थापाले गीता नै छोएर भन्न परेको छ, – ‘अव राप्रपालाई फुटन दिइने छैन ।’

कमल थापालाई लागेको थिएन,- आफुसँगै सधै साथ रहेका राजेन्द्रले अध्यक्षमै चुनौति दिन्छन् । तर राजेन्द्रले उम्मेदवारी घोषणा गरेसँगै थापा र लिङ्देनका पक्षमा राप्रपाका पुराना ‘हस्ती’हरू बाँडिए । प्रभावको हिसाबले थापा बलिया देखिए पनि युवापुस्तालाई साथमा लिएर हिँडेका लिङ्देन थापाका लागि कठिन चुनौति बने । त्यसपछि थापाले लिङदेनलाई फकाउन पनि खोजे ।

‘पार्टीको कमजोर अवस्था छ । यो भन्दा कमजोर हुने ठाउँ छैन । ४ वर्ष धैर्य गर्नुस्, अलि माथि पुगेपछि तपाईंहरुलाई जिम्मा लगाउँला ।’ लिङदेनसँग कमल थापाको प्रस्ताव थियो ।

तर लिङदेन र धवलको बनेको जोडी कमल थापाको प्रस्तावमा भुल्ने पक्षमा यसपटक देखिएन । जसकाकारण यसपटक राप्रपाभित्रको चुनावी भिडन्त रोचक बन्दैछ ।

राप्रपाका तीन अध्यक्ष : प्रकाशचन्द्र लोहनी, कमल थापा र पशुपति सम्शेर जवरा

हिजोका चेला, आजका प्रतिस्पर्धी

राजेन्द्र लिङदेन कमल थापाका चेला हुन् । कमल थापाले नै राजेन्द्रलाई राजनीतिमा गु्रम गरेका ब्यक्ति हुन् । राप्रपामा आएको अनेक विभाजनमा पनि राजेन्द्रले कमल थापालाई साथ दिँदै आएका थिए । थापा, पशुपति शम्शेर र डा प्रकाशचन्द्र लोहनी तीन जना पार्टीको अध्यक्ष हुँदा लिङदेन पार्टीको महामन्त्री थिए ।


भण्डै १०-१२ वर्षदेखि राजेन्द्र लिङ्देन र धवल शमशेरलाई पार्टी अध्यक्षको रुपमा कमल थापाले नै नेतत्व गदै आएका थिए । रोचक त के भने कमल थापाको पक्षमा सधै लाग्ने भन्दै राजेन्द्र लिङदेनले गत ४ महिना अगाडी मात्रै पाथिभारा मन्दिरमा पुगेरै कसम खाएका थिए । त्यही राजेन्द्रले पाथिभारामा खाएको कसमको विषय पनि यतिवेला राप्रपा महाधिवेशनमा ‘हटकेक’ वनिरहेको छ ।

‘चार महिना अघिसम्म कमल थापा अपरिहार्य छ, उहाँको चरित्र हत्या गर्ने योजनावद्ध प्रयास भएको छ, हामी उहाँको रक्षा गर्छौं भनेर कसम खानेहरू चार महिना पछाडि किन विरुद्धमा लागे ?’ थापा निकटले लिङदेनलाई जर्वजस्त कसैले उचालेको पुष्टि गराउन अहिले यस्तो तर्क गदै छन् । एक प्रसंगमा कमल थापाले समेत राजसस्थाले राप्रपाको महाधिवेशनमा नखेलोस भनेर अभिब्यक्ति दिएका थिए । थापाको यो संकेत लिङदेनहरुलाई पूर्व पूर्व राजा र राजदरवारले संरक्षण गर्न खोजेकोप्रति लक्षित थियो । तर लिङदेनले आफु कसैले उचाल्दैमा नउचालिने मान्छे भएको बताउँदै आईरहेका छन् ।

धवलशम्शेरले राप्रपाको नेतृत्व काम लाग्दैन भन्ने निश्कर्ष धेरै अगाडी नै निकाल्दा सम्म लिङदेन कमल थापाकै पक्षमा थिए । तर अहिले भने धवलकै बाटोमा लिङदेन लागेपछि सवैभन्दा वढी आक्रोशित कमल थापा बनेका छन् ।

राजेन्द्र पनि कमल थापाले आफुलाई गरेको टिप्पणीवाट आक्रोशित छन् । राजेन्द्रलाई नेतृत्वमा लैजाने बेला नभएको र त्यो हैसियतको क्षमता राख्ने मान्छे नभएको भनी कमल थापाले सार्वजनिक एक टेलिभिजनमा अन्तवार्ता दिएपछि लिङदेन थापासँग चिढिएका छन् ।

उमेरमा थापा १० वर्ष जेठा

झट्ट हेर्दा कमल थापा र राजेन्द्र लिङदेन एकै उमेर समुहका होलान् भन्ने दुवै नेतालाई देख्नेहरुले भन्ने गर्छन् । तर टेवुल टेनिसका राम्रा खेलाडी समेत रहेका थापा लिङदेन भन्दा उमेरमा १० वर्ष जेठा छन् । थापाको जन्म २०१२ सालमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । लिङ्देनको जन्म भने २०२२ सालमा ताप्लेजुङको ढुङ्गेसाँघुमा ।

थापा नेपाली सेनाका कर्णेलका छोरा थिए । काठमाडौंमा जन्मिएकाले शिक्षा दीक्षा राम्रोसँग पाएका थिए । राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट थापाले स्नातकोत्तर गरेका छन् । लिङदेन ताप्लेजुङमा जन्मेपनि बाल्यकाल देखि झापामै रहे । त्यही क्रममा उनले पनि राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन् ।

लाइनमा छैन मतभेद

राप्रपाको वैचारिक/सैद्धान्तिक ‘लाइन’ अहिले पनि हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रमै समाहित छ । तर यो लाइनलाई कसले बोक्ने र यसको असली उत्तराधिकारी को बन्ने भन्नेमा भने थापा र लिङदेनका वीचमा प्रतिस्पर्धा छ ।

त्यसवाहेक वैचारिक राजनीतिक कार्यदिशा, एजेण्डा र अवको राजनीतिका बारेमा थापा-लिङदेनका वीचमा कुनै मतभेद र विवाद छैन ।

‘मलाई लाग्छ, विचारमा कुनै भिन्नता छैन । हामीले जुन विचारलाई लिएर अगाडि बढिराखेका छौं, त्यो विचारमा पनि कसैको निष्ठामा म शंका गर्न चाहन्नँ । तर, भविष्यमा पार्टीको कार्यनीतिका बारेमा भने केही भिन्नता हुन सक्छ ।’ कमल थापा भन्छन् ।

राजेन्द्र लिङदेनको तर्क पनि उस्तै छ । उनी भन्छन्,-‘हाम्रो राजनीतिकरुपमा कुनै फरक मत छैन । मूलरुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिचालित गर्ने कार्यशैली चाहिँ फरक भयो र यसमा हामीले सुधार ल्याउन खोजेका हौं ।’

कमल थापालाई लाग्ने आरोप : ‘मुसा प्रवृति’

नेपाली राजनीतिमा मुसा प्रवृति निक्कै चर्चामा छ । त्यो कमल थापामाथी लोकेन्द्र वहादुर चन्दहरुले पार्टीभित्रैबाट लगाएका आरोप हुन् । २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा-एमाले सरकार बनेको थियो । राप्रपा नेता चन्द प्रधानमन्त्री थिए ।

चन्द प्रधानमन्त्री बनेको ६ महिनापछि नै राप्रपामा विवाद जन्मियो । राप्रपा एमाले गठवन्धन भत्काउन प्रतिपक्षमा रहेको कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा-कांग्रेस सत्ता सहकार्यको कार्ड फ्याक्यो ।

त्यसपछि चन्द सरकारमा मन्त्री रहेका राप्रपाका नेताहरू नै राप्रपा-एमाले गठबन्धन तोड्न र कांग्रेससँग मिलेर सरकार चलाउन निक्कै आतुर देखिए । त्यसैमध्येका एक थिए – कमल थापा।

थापाले आफूलाई छोड्न लागेपछि चन्दले त्यसवेला उनलाई लक्षित गदै एउटा टिप्पणी गरेका थिए । त्यो हो – ‘मुसा प्रवृत्ति’ । त्यसलाई ब्याख्या गदै चन्दले भनेका थिए,-‘जहाज डुब्न लागेको थाहा पाएपछि सबैभन्दा पहिले मुसाहरू जहाज छोडेर भाग्छन्।’

त्यसपछि भने कमल थापालाई सधै आरोप लागिरह्यो– मुसा प्रवृतिको । अहिले यो आरोप राप्रपाभित्र मात्र सिमित छैन । अन्य: राजनीतिक दलभित्र पनि त्यही खालको सत्ता संर्घष चल्ने वित्तिकै मुसा प्रवृत्ति सधै नेताहरुले सम्झने र आरोप लगाउने क्रम दोहोरिन थालेको छ ।

वलिया को ? लिङदेन की थापा ?

आखिर लिङदेन र थापा वीच चुनावी प्रतिस्पर्धा हुने भएपछि को होलान् वलियो ? अहिले चर्चा शुरु भएको छ । भोलि महाधिवेशनमा सहभागी ४ हजार ४ सय प्रतिनिधीले गर्ने मतदान नै राप्रपाको अवको अध्यक्षका लागि निर्णायक हुनेछ । लिङदेनलाई प्रकाशचन्द्र लोहनीसहित पूर्व उपाध्यक्ष ढंक ढकाल, दिलविकास राजभण्डारी, तारानाथ लुइँटेल, पूर्वमहामन्त्री भइसकेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, पूर्वमन्त्री रामकुमार सुब्बा, जगत गौचन, दुर्गा श्रेष्ठ, रामचन्द्र राय, काठमाडौं महानगरका पूर्वमेयर राजाराम श्रेष्ठ लगायतले समर्थन जनाएका छन् । अभिनेत्री रेखा थापाको साथ पनि लिङदेनलाई नै छ ।

थापालाई भने पूर्वमन्त्री दीपक बोहरा, बुद्धिमान तामाङ, जयन्त चन्द, ध्रुवबहादुर प्रधान, फत्तेसिंह थारू, प्रेमबहादुर भण्डारी लगायतले समर्थन जनाएका छन् । राप्रपामा सधैजसो खाईखेली आएका नेताहरु हुन्, दीपक वोहोरा, वुद्दिमान तामाङ, धुव्रवहादुर प्रधान लगायतका नेताहरु । यी नेताहरु यस अगाडी पशुपति सम्शेर जवरासँग जोडिएका थिए । तर अहिले उनीहरु कमल थापासँग छन् ।

यसले पनि देखाउँछ प्रभावका हिसावले थापा र आकषर्णका हिसावले लिङदेन राप्रपामा बलिया देखिएका छन् ।

यो पनि पढ्नुहोस्

कमल थापा भर्सेस राजेन्द्र लिङ्देन, को कति बलियो ?

प्रतिक्रिया