बहसमा कांग्रेस
नेपाली कांग्रेस : घुम्दै-फिर्दै सत्तामा
२०४७ साल पछिका ३१ वर्षमा कांग्रेस आफ्नै नेतृत्वमा १६ वर्ष ४ महिना सरकारमा

कांग्रेस सभापति शेरबहादुर देउवा उमेरले ७५ वर्ष पुगे । शुक्रबारदेखि १४ औँ महाधिवेशन शुरु गरेको देशकै पाको पार्टी कांग्रेसको उमेर पनि ठ्याक्कै देउवाको जति नै पुगेको छ । २०७२ फागुनयता कांग्रेसको नेतृत्व पनि देउवासँगै छ ।
देउवाको उमेरभन्दा ठिक ८ महिनामात्रै कान्छो कांग्रेसको नेतृत्व लिनका लागि फेरि देउवा नै कस्सिएका छन् । अर्थात्, देउवा ३१ जेठ २००३ मा जन्मे भने कांग्रेस सोही वर्ष १२-१३ माघमा ।
मुलुककै जेठो पार्टीमा कान्छा प्रतिनिधिहरुको यसपटक उत्साहजनक सहभागिता छ । तर, फेरि पार्टीको नेतृत्वमा पुग्न भने ७० कटेकै नेताहरूको दौड तीव्र छ ।
उल्लेख्य संख्यामा किशोर र युवा उमेरका प्रतिनिधि छानिएर आए पनि कांग्रेसमा नेतृत्वको अनुहार भने २०४६ सालदेखि एउटै देखिँदैछ । अर्थात कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवा या रामचन्द्र पौडेल ।
आज, यिनै नेताहरुका बीचमै कांग्रेस छ । गिरिजा, सुशीलहरु हुँदासम्म पार्टी नेतृत्वमा रहे । अहिले ७५–७६ उमेर समूहका देउवा र रामचन्द्र पौडेल पार्टी नेतृत्व लिने दौडमा छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका भनाईमा, यसपटक देशभरबाट चुनिएका करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा भाग लिँदै छन् । त्यसमध्ये १८ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या ३० प्रतिशत अर्थात् २ लाख ३५ हजार छ । त्यस्तै ५० वर्ष मुनीका हिसाब गर्ने हो भने यो संख्या ५० प्रतिशत छ ।
एकातिर कांग्रेसमा किशोर र युवा उमेरका प्रतिनिधिले बाहुल्य जमाउन खोजेका छन । तर, पार्टी र सत्ताको नेतृत्वमा भने बुढाहरुकै जगजगी छ । सत्ताको बागडोर सम्हाल्ने मौका घुमिफिरी आइरहँदासमेत कांग्रेसले आफ्नो अस्तित्व कायम राख्न नसकेको आरोप खेप्दै आएको छ ।
२०४७ को परिवर्तनपछिका ३१ वर्षमा कांग्रेस आफैले १६ वर्ष ४ महिना सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । अहिले पनि सरकारको नेतृत्वमा कांग्रेस नै छ । झण्डै–झण्डै ०७४ सालको निर्वाचन परिणामले कांग्रेसलाई नराम्रोसँग खुम्चाइसक्दा समेत कम्युनिष्टहरुको फुट र विभाजनले फेरि कांग्रेसलाई तंग्रिने मौका दिएको छ । केन्द्रदेखि प्रदेशसम्मका सरकारमा फेरि उसले अड्डा जमाउने मौका पाएको छ ।
सम्मुखमै अब स्थानीय तहको चुनाव, प्रदेश र केन्द्रका चुनाव छन् । यही पृष्ठभूमिमा कांग्रेसले पार्टीको महाधिवेशन आयोजना गर्न लागेको छ । तर कांग्रेसले आफ्नो विगतलाई समीक्षा गर्नेतिर ध्यान दिन नसकेको कांग्रेसकै कतिपय विश्लेषकहरुको टिप्पणी सुनिन्छ ।
कांग्रेसका नेताहरूका सिद्धान्तहीन मतभेद अनि स्वार्थ, महत्त्वाकांक्षा र अहंको टक्करले एउटै दल भए तापनि दुई वा दुईभन्दा बढी दलको मोर्चाजस्तो गरी कांग्रेस चलिरहेको छ । गत महाधिवेशनयता त झन नराम्रोसँग कित्ताकाँटकै रुपमा चलेको छ । त्यो मौलाउने र झाँगिने अवसर यसपटक गाउँ, क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्मको निर्वाचन परिणामले देखाइसकेको छ । अब केन्द्रको प्रतिस्पर्धाले त्यसलाई थप गुटबन्दीतिर लैजाने देखिएको छ ।
यसले कांग्रेसमा सिद्धान्तभन्दा पनि कसरी नेतृत्व कब्जा गर्ने भन्नेतिर नेताहरुको ध्यान केन्द्रीत देखिन पुगेको छ । ०६४ असोजमा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) एकीकरण हुँदा गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसभित्र ६०-४० को भागबन्डा पार्टीमा भित्र्याइदिए । त्यही भागवन्डाको मापदण्ड कांग्रेसमा आज पनि जिवितै छ । महाधिवेशनमा समूह बनाएर प्रतिस्पर्धा गर्ने र जित्नेसँग हार्नेले त्यसैका आधारमा भागवन्डा र सौदावाजी गर्ने रोग कांग्रेसमा संस्थागत भइसकेको छ ।
तर सत्तामा हुँदा होस् या प्रतिपक्षमा जनताका जनजीविकासँग चासो राखेर काम गर्न नसक्दा पटक–पटक चुकेको छ । गत निर्वाचनमा अस्वभाविक पराजित हुँदासमेत उसले प्रतिपक्षमा रहेर ‘निर्णायक खबरदारी’ गर्न बारम्बार चुक्यो । कम्युनिष्ट सरकारले मन लाग्दी गर्दा, दुई-दुई पटक संसद विघटन गर्दासमेत कम्युनिष्ट दलले नै नबोल्दा र ढाढस नदिँदासमेत कांग्रेस मुकदर्शक मात्रै बनेको आरोप लाग्यो ।
आफैले वकालत गर्दै आएको लोकतन्त्रको मूल्य-मान्यता र आदर्शको दुहाई दिने कांग्रेस राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता तथा बहुलवाद, संसदीय लोकतन्त्र, न्यायिक सर्वोच्चता, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, मानवाधिकारजस्ता मूल्य-मान्यताको पक्षमा ‘हस्तक्षेप’कारी नीति लिनै सकेन । यसले कांग्रेसलाई सत्तामा भएपनि प्रतिपक्षमा भएपनि जनतासँग जोडन सकेन ।
अहिले पनि कांग्रेस सत्तामै छ । आफ्नै नेतृत्वमा सरकारमा रहेको कांग्रेसले जनताको मन जित्ने काम गर्न चुकेको छ । दैनान्दिनका मोलहिज्जामा मात्र रमेको आरोप कांग्रेसलाई लागेको छ । युवापुस्ताले देखिने, सुनिने र बुझिने कांग्रेसको वकालत गरेपनि बुढो कांग्रेस हाक्न तम्सेका बुढा नेताबाट फेरि उही पार्टी सत्ता कब्जा गर्ने र सरकारको तालाचाबीमा आफ्नो पहुँच कसरी सुरक्षित गर्ने भन्नेबाहेक अर्काे बहसमा देखिदैनन् ।
३१ वर्षमा साढे १६ वर्ष सत्तामा
०४७ यता मात्रै कांग्रेस ३१ वर्षमा १६ वर्ष ४ महिना सरकारको नेतृत्वमा छ । अहिले पनि कांग्रेसले नै सरकारको नेतृत्व गरिरहेको छ । गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला र शेरबहादुर देउवा ४ जना नेताले मात्रै यति लामो समय सरकारको नेतृत्व सम्हालेका हुन् ।
गिरिजा र देउवाले त प्रधानमन्त्री हुने अवसर ५ पटकसम्म पाए । गिरिजाले ५ पटकमा गरेर सबैभन्दा बढी ८ वर्ष ४ महिना शासनको बागडोर सम्हाल्ने अवसर पाए । उनले १२ जेठ २०४८ देखि १४ मंसिर २०५१ सम्म २ वर्ष ६ महिना, २ वैशाख ०५५ देखि १७ जेठ २०५६ सम्म १ वर्ष २ महिना, ९ चैत ०५६ देखि ११ साउन ०५८ सम्म २ वर्ष ४ महिना, १२ वैशाख ०६३ देखि १५ जेठ ०६५ सम्म २ वर्ष १ महिना र संविधानसभाको चुनावपछि गणतन्त्र घोषणापछि १५ जेठ ०६५ देखि २ भदौं ०६५ सम्म ३ महिना गरी साढे ८ वर्ष जति सरकारको नेतृत्व सम्हाले ।
त्यस्तै, कृष्णप्रसाद भट्टराई २ पटक प्रधानमन्त्री बन्न पाए । उनले ६ वैशाख ०४७ देखि १२ जेठ ०४८ सम्म १ वर्ष १ महिना र १७ जेठ ०५६ देखि ९ चैत ०५६ सम्म ९ महिना गरी १ वर्ष १० महिना सरकार चलाउन पाए ।
त्यसपछिका कांग्रेसका अर्का प्रधानमन्त्री बन्ने मौका पाएका सुशील कोइरालाले एक पटक २८ माघ ०७० देखि २४ असोज ०७२ सम्म १ वर्ष ८ महिना सरकार चलाए । देउवाले भने २७ भदौं ०५२ देखि २९ फागुन ०५३ सम्म १ वर्ष ६ महिना, ११ साउन ०५८ देखि १८ असोज २०५९ सम्म १ वर्ष २ महिना, २१ जेठ २०६१ देखि १९ माघ ०६१ सम्म ८ महिना र २४ जेठ ०७४ देखि ३ फागुन २०७४ सम्म ९ महिना सरकार चलाईसकेका थिए । अहिले फेरि २९ असार २०७८ यता उनी निरन्तर प्रधानमन्त्रीका रुपमा छन् ।
तर, सधै किन कमजोर ?
सरकारको नेतृत्वमा ३१ वर्षको बीचमा झण्डै आधाभन्दा बढी समय आफै बसेको कांग्रेसको जनमत भने खस्कदो छ । ०१५ को आमचुनावमा कम्युनिस्ट पार्टीलाई जम्माजम्मी ४ सिटमा खुम्चाउन सकेको कांग्रेसले पछिल्लो पटक भने बामपन्थीको जनमतलाई खुम्चाउन सकेको छैन ।
कांग्रेसको कुल मत ३२.७८ प्रतिशत गत प्रदेश तथा केन्द्रको चुनावमा देखिँदा एमाले एक्लैको उसको भन्दा बढी ३३.२५ प्रतिशत मत आएको थियो । तर अहिले परिस्थिती त फेरिएको छ । कम्युनिष्टहरुले त्यसबेला जुटेर कांग्रेससँग भिडेका थिए, तर अहिले विभाजित भएका छन् ।
कम्युनिष्ट विभाजनबाट मात्र सत्तामा पुग्न सक्ने अवस्थामा पुगेको कांग्रेसको अहिले कम्युनिष्ट विभाजन हुँदासम्म अब कांग्रेसले जनमत सबै बटुल्छ भन्ने जनाधार र विश्वास जनताका बीचमा छोड्न सकेको छैन । यसो किन भइरहेको छ त ? कांग्रेसकै कतिपय नेताहरु विश्लेषण गर्छन,- कांग्रेसको नेतृत्व नै जनभावना बुझ्ने, देखिने खालको भएन । जसकाकारण कांग्रेसले लिन सक्ने अवसर पनि गुमाइरहेको छ । अहिले सत्तामा देउवा छन् । तर चुनाव सम्मुखमा रहेको सरकारले काम गरेर जनमत लिनेभन्दा सरकारमा बसेर झन जनमत भड्काउने मात्र गरिरहेको आरोप कांग्रेसभित्रै लागेको छ ।
यसले कांग्रेसलाई सुधार्ने भन्दा पनि यथास्थितिमै रुमल्याउने बुझाई कांग्रेसकै कतिपय नेताको छ । तर अब यो महाधिवेशनले कांग्रेसमा कस्तो परिवर्तन दिन्छ ? यसले कस्तो खालको नीति निर्माण गर्छ र नेतृत्व चयन गर्छ ? अहिले सबैको चासो त्यतै छ । कांग्रेसका युवा नेता गगन थापा भन्छन्, ‘आजको अवस्थामा कांग्रेसले पार्टीका सदस्यलाई सामान्य कुराहरू मात्रै गरेर, देखाएर हुँदैन । अब यो पार्टीका लागि नयाँ सपना र नयाँ संकल्प चाहिएको छ, जसले नाै लाख सदस्यहरूलाई जुरुक्कै उठाउन सकोस् । महाधिवेशन त्यसैमा केन्द्रीत हुन जरुरी छ ।’
०००
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया