शनिबार, वैशाख १२, २०८३

निर्वाचनमा ध्यान केन्द्रित गर्न पार्टी नेताहरुलाई ओलीको आग्रह

वडा तहमा जाँदा पाँच वटा मुख्य कामबारे जानकारी ल्याउन निर्देशन

मेरोन्यूज २०७८ मंसिर २५ गते १८:२६
फाइल तस्बीर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

Advertisement
NiccNicc

शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दावी समेत गरे ।

अध्यक्ष ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाई गर्न नहुने स्पष्ट पारे । अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन निर्देशन दिएका छन् ।

जनताको चाहना अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन हाम्रो पार्टीले अब सबै तहमा जाँदा त्यहाँको मुख्य मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहना अनुसार पार्टीेले काम गर्न सक्ने अध्यक्ष ओलीको भनाई थियो ।

एमाले अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अविलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए ।

अब छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने ओलीको भनाइ थियो ।

उनले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रताका साथ पूरा गर्न नेताहरुलाई सचेत गराए ।

राष्ट्रको अभिभारा एमालेको काँधमा रहेको उल्लेख गर्दै उनले पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया