महाधिवेशनमा ‘माओवादी ब्राण्ड’को खोजी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा उपस्थित भएका नेता तथा कार्यकर्तादेखि अन्य दलका शीर्ष नेताले माओवादीको वास्तविक पहिचान (ब्राण्ड)को खोजी गरे । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको पहलकर्ता र संस्थापनकर्ता माओवादी पछिल्ला वर्षमा रुमल्लिएको जस्तो अनुभव भइरहेका बेला राष्ट्रिय स्तरमै त्यो ब्राण्डको खोजी भएको हो ।
संविधानसभाबाट संविधान माओवादीको एजेण्डा थियो, पूरा पनि भयो । नेपाली जनताले संविधानसभामार्फत संविधान निर्माण गर्ने अवसर प्राप्त गरे । नेपालमा शान्ति प्रक्रिया मौलिक ढंगले पूरा भयो । केही काम अझै पनि बाँकी छ । त्यसलाई शीघ्र पूर्णतामा लैजानुपर्ने दायित्व माओवादीकै काँधमा छ । तर ढिला भएको छ । उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको भूमिकाको उच्च प्रशंसा गर्दै जनता र देशका पक्षमा थप क्रियाशिल हुन माओवादी नेतृत्वको ध्यानकर्षण गराए ।
जनयुद्ध कालीन सहयात्री सिपी गजुरलले केही शर्तहरू राख्दै फेरि माओवादीका बीचमा एकताको आवश्यकता औँल्याए । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूलो मेहनतका साथ नेकपा गठन भए एकता जोगाउन नसक्नुको कारणहरूको खोजी गर्नुपर्ने धारणा राखे ।
नेकपा (माले)का महासचिवले त जनयुद्ध कालीन एजेण्डाको स्मरण मात्रै गराएनन्, लक्ष्यमा कहाँकहाँ चुक्यो भनेर माओवादी नेतृत्वले खोजी गर्नु पर्ने सुझाव दिए । समग्रमा सबै नेताहरूका एउटै मनोभावना थियो, माओवादीले आफ्नो एजेण्डा के कति पूरा गर्यो र के कति एजेण्डा अझै पनि बाँकी छ भन्ने खोजी गर्न ध्यानाकर्षण गराए ।
टुटफुट र विभाजनको चक्रब्यूहमा फसेको भए पनि जनयुद्ध कालीन माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’कै वरिपरी केन्द्रीत छ भन्ने यथार्थ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रष्ट देखियो । जनयुद्ध कालीन १७ नेताले पार्टी छाडेको, नौ जना उच्च नेताले शहादत प्राप्त गरेको भए पनि सहिद, बेपत्ता परिवार, घाइते योद्धा सबैको आश अझै पनि माओवादीप्रति नै छ ।
एजेण्डाका हिसाबले माओवादी अब्बल देखिए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भनेअनुसार नेतृत्व गर्न सकेको छैन । यद्यपि, नेपालको राजनीतिक परिवर्तनको भूमिकामा माओवादी शीर्ष स्थानमा छ । नेतृत्वमा नै छ ।
यही सन्दर्भ जोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बलमा नै संविधानसभाबाट संविधान बनेको ऐतिहासिक तथ्यलाई स्मरण गराइदिए । प्रधानमन्त्रीले भने, “प्रचण्ड जीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौँ । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको च्ुनाव भएको हो ।”
माओवादीकै नेता नारायणकाजी श्रेष्ठ र मातृकाप्रसाद यादवले पनि पार्टीको चिन्ता गरे । उनीहरूले माओवादीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने ‘प्रेसक्रिप्सन’ प्रस्तुत गरेका थिए । सांगठनिक कर्मकाण्ड पूरा गर्न मात्रै माओवादीको आयोजना नगरिएको भन्दै नेता श्रेष्ठले माओवादीले गर्नु पर्ने विभिन्न पाँच वटा कामका बारेमा उद्घाटन शत्रलाई जानकारी गराए ।
अर्का नेता यादवले कोही कसैले छाड भन्दैमा क्रान्तिकारी नेतृत्वले छाड्न नमिल्ने र नेतृत्वको पुस्तान्तरण भन्ने कुरा पूँजीवादीको भएको बताए । नेता यादवले भने, “अहिले चलेको पुस्तान्तरणको कुरा पूँजीवादीहरूका कुरा हुन् । बुढाले छाड्नु पर्यो र नयाँलाई दिन पर्यो । स्थापित नेतालाई पाखा लगाइदिने अनि केही नजान्नेलाई नेता बनाइदिने ।” नेता यादवले पार्टी र क्रान्तिको चिन्ता गर्दै अगाडि भने, “फेस र एजले मात्रै नेतृत्व हुँदैन ।”
नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरलले पनि माओवादीको पहिचान स्मरण गर्न सुझाव दिए । उनले जनयुद्ध सुरु गर्दा ताकाको केन्द्रीय समितिले गरेको प्रतिबद्धता सम्झन विशेष गरी प्रचण्डलाई सुझाव दिए । राष्ट्रियता, जनजीविकाको विषयमा प्रष्ट भएर आए माओवादीसँग पुनः एकता हुने उनको भनाइ थियो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनयुद्ध कालीन दिनहरू स्मरण गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहको बलमा गणतन्त्र र संघीयता स्थापना भएको तथ्य पेश गर्दै माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कतिपय एजेण्डा पूरा हुन नसकेको भन्दै पहिचानको खोजी गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले माओवादीको मूल्य र मान्यताको खोजी गरेका थिए । उनले संविधानमा सबैथोक भए पनि केही नभएको जस्तो भएको भन्दै संविधानलाई पूर्ण बनाउन सके माओवादी नै सफल हुने धारणा राखेका थिए ।
मालेका महासचिव मैनालीले त व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेकामा जनगुनासो व्याप्त रहेको भन्दै नेपाली राष्ट्रिय जनक्रान्तिको मौलिक बाटो कुन हो भनेर माओवादी नेतृत्वलाई नै प्रश्न गरेका थिए ।
सबै नेताका धारणा सुनिसकेपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन नसकेको र माओवादी आन्दोलन कमजोर भएको विषयमा आत्मसमीक्षा गर्ने दृढता व्यक्त गरेका थिए । माओवादी अरु कारणले होइन मेरो आफ्नै कारणले बिग्रिएको भन्दै अब आफैँबाट सच्याउन सुरु गर्ने अध्यक्ष प्रचण्डको स्वीकारोक्ति थियो ।
रमेश लम्साल, रासस















पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै शान्तिसैनिकको सुरक्षामा नेपालको जोड
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया