शुक्रबार, वैशाख २५, २०८३

करिब १३ वर्षमा २८९ गैँडाको मृत्यु

मेरोन्यूज २०७८ पुष २७ गते ९:४५

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् ।

Advertisement
NiccNicc

यसैगरी, केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेका जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५–७६ मा सबैभन्दा बढी गैँडा मरेका छन् । उक्त वर्ष मरेका ४३ गैँडामध्ये १३ वटा पोथी, नौवटा भाले तथा बाँकी गैँडाको लिंग पहिचान गर्न नसकिएको तिवारीले बताए ।

सो वर्ष वयस्क गैँडाको धेरै मृत्यु भएको उल्लेख गर्दै सूचना अधिकारी तिवारीले धेरै गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको बताए । वयस्क तथा वृद्धावस्थाका १६ वटा, पाँच वर्षमुनिका सातवटा तथा बाँकीको कंकाल मात्रै भेटिएकाले उमेर पत्ता लगाउन नसकिएको तिवारीको भनाई छ ।

त्यसैगरी सोही वर्ष आठ गैँडा जुधेर, गोहीको आक्रमणबाट एउटा, सेफ्टी ट्यांकीभित्र खसेर एउटा, खाल्डामो खसेर एउटा, बिरामी भएर एउटा, वृद्धावस्थाका कारण दुई तथा आठवटा गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको तिवारीले जानकारी दिए ।

निकुञ्जको मुख्यालय चितवनमा पर्ने भए पनि यो निकुञ्ज विभिन्न चारवटा जिल्लाको १२ वटा स्थानीय तहमा फैलिएको छ । चितवनका पाँच पालिका, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पाँच पालिका, मकवानपुर र पर्साको एक÷एकवटा स्थानीय तहमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जको जम्मा क्षेत्रफल ९५२ वर्ग किलोमिटर छ ।

प्रतिक्रिया