सोमबार, चैत २, २०८२

कोरोना बढेपछि विमानस्थलमा हेल्थ डेस्क सेन्टर

मेरोन्यूज २०७८ माघ ४ गते ८:४०

काठमाडौँ । पछिल्लो समय देशभर कोरोनाको संक्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थ डेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाई यात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।

उनले सिमकोटबाट बाहिरिने र भित्रने सबै यात्रुको तीन पुस्ते विवरण लिने र स्वास्थ्य जाँच गर्ने काम सुरु भएको बताए । त्यसका लागि दुई स्वास्थ्यकर्मी खटाइएको छ ।

अब चाँडै पैदलमार्गबाट जिल्ला भित्रने दुई वटा नाका चङ्खेली गाउँपालिका १ को मिमी र ताँजाकोट गाउँपालिका १ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले बताए ।

प्रतिक्रिया