बुधबार, चैत ४, २०८२

गैंडा मरेको विषयमा छानविन गर्न बन्यो समिति

अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

मेरोन्यूज २०७८ माघ १० गते १७:२०

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सडकको नालामा फसेर मरेको दुर्लभ एकसिंगै गैंडाका विषयमा अनुसन्धान गर्न छानविन कमिटि बनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत) राजु घिमिरेलाई अनुसन्धानको जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।

निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक खनेको नालामा फसेर आइतबार एउटा भाले गैंडा मरेको थियो । नालाको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर गैंडा मरेको हो ।

नाला खन्ने वेला निकुन्जसाग कुनै परामर्श नभएको पनि निकुन्जले जनाएको छ ।

नाला खनेर महिनौँसम्म यत्तिकै छाड्दा यो सडकखण्डमा दुर्घटनाको जोखिम छ । गैंडा मरेको ठाउँ निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत पर्ने भएकाले नाला निर्माणमा सडक डिभिजनको लापरबाही देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताएका छन् ।

मध्यवर्ती क्षेत्रमा कंक्रिटको नाला बनाउन निकुञ्जको स्वीकृति पनि नलिइएको उनले बताए । ‘सडकले अनुमति नलिई काम गर्‍यो । ठेकेदारले काम गर्दा विचार पुर्‍याएन, लापरबाही गर्‍यो’, उनले भने, ‘मध्यवर्तीमा काम गर्दा निकुञ्जको अनुमति वा स्वीकृति लिनुपर्ने थियो । त्यो देखिएन ।’

लापरबाही गर्नेलाई मुद्दा चलाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सरकारी वकिलले निर्णय गर्ने उनले बताए । ‘अहिले हामीले अनुसन्धान गर्छौँ, मुद्दा चल्ने(नचल्ने भन्ने विषयमा चाहिँ सरकारी वकिलले निर्णय गर्नुहुन्छ’, उनले भने, ‘अनुसन्धानलाई अघि बढाउन सहायक वार्डेनलाई अनुसन्धान अधिकृत तोकेको छु ।’

सन् २०२१ को गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिंगै गैंडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा छन् । यस आर्थिक वर्ष २०७८/७९ को हालसम्म २२ वटा गैंडाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया