बुधबार, फागुन ६, २०८२

जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक

मेरोन्यूज २०७७ चैत ११ गते २१:१०

काठमाडाैं । पूर्वसोभियत सङ्घ र रुसप्रतिको यथार्य भोगाइ मिश्रित सद्भावपूर्ण अभिव्यक्तिको चिनो तथा जनस्तरबाट कुँदिएको मित्रताको प्रतीकका रुपमा ‘सम्झानामा रुस’ कृति सार्वजनिक भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पूर्वसोभियत सङ्घ र रुसको छात्रवृत्तिबाट विभिन्न विश्वविद्यालय र अध्ययन संस्थानबाट उच्चशिक्षा प्राप्त गरेका नेपाली सात स्रष्टाको स्मरण समेटिएको ‘सम्झनामा रुस’ को आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकार्पण गरे । नेपाल–रुस साहित्य समाजद्वारा प्रकाशित उक्त संस्मरणात्मक कृतिमा कृष्णप्रकाश श्रेष्ठ, कन्हैया नासननी, चन्द्रकान्त आचार्य, डा जंगब चौहान, जीवा लामिछाने, डा प्रकाशराज रेग्मी र विष्णुबहादुर सिंहका तीन/तीन गरी २१ वटा रचना सङ्ग्रहित छन् ।

कृतिमा सातै जना लेखकले विभिन्न कालखण्डमा आ–आफ्नो संवेदनशील युवा उमेर उच्च अध्ययनको क्रममा बिताएको रुसी ज्ञानभूमिसँग रहेको भावनात्मक सम्बन्धलाई आ–आफ्नै कोषबाट स्मरण गरेका छन् । उक्त स्मरणमा पूर्वसोभियत सङ्घ र रुसको सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक, ऐतिहासिक एवं भौगोलिक परिवेशको पृष्ठभूमिमा आ–आफ्ना अनुभूति समेटिएको छ ।

सङ्ग्रहभित्र स्रष्टा श्रेष्ठको ‘पुश्किनको पदचिह्न पछ्याउँदै’, ‘लेलिनसित सम्बन्धित स्थानको यात्रानुभूति’ र ‘क्रास्नोयास्र्कको मनचिन्ते यात्रामा क्रास्नोदारदेखि ब्रात्स्कसम्म’ तथा नासननीको ‘पियानोमा एउटा सङ्गीत”, ‘अतीतको क्यानभासमा मेरो छात्रावास’ र ‘स्मृतिपत्र रुसी गीत र सङ्गीतहरुको’ संस्मरण रहेको छ ।

यस्तै अर्का लेखक प्राडा चौहानको ‘कर्छेली साहित्यकारसँग बितेका स्वप्निल पलहरु’, ‘कृष्णसागरीय लहर, बालाक्लाभको साँझ र याल्टा–ग्रुजुफको साहित्यिक तीर्थाटन’ र ‘कवि भिक्तरसँगका बुनिनमय क्षणहरु’, आचार्यको ‘मास्को र कीभका यात्राहरु’, ‘मास्को सर्भे इन्स्टिच्यूटको सेरोफेरो’ र ‘रुसबाट युरोप जाँदा’, युवा व्यवसायी लामिछानेको ‘देश टुक्रिँदाको दुर्दशा’, ‘ऐतिहासिक सहर सान्त–पितरबर्ग’ र ‘महाकवि रसुलसँग जोडिएको नेपाल’ तथा डा रेग्मीका ‘समाजवादी अस्पतालको शय्यामा केही दिन’, ‘रुसको प्राकृतिक चिकित्सा केन्द्र’ र ‘लेनिनको देशमा पढ्न पाउनुको गर्व’ तथा सिंहको ‘मस्को–भेलामा नेपाली पाहुना’, ‘मस्कोमा रेडियो हराएको क्षण’ र ‘समुद्रपारको साहसिक यात्रा’ शीर्षकको संस्मरण सङ्ग्रहित छ ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले पुस्तकमा समेटिएको संस्मरणमार्फत रुसको विशाल सभ्यता, गौरवपूर्ण संस्कृति र रुसका विविध विषयमा जानकारी पाउन सकिने ‘आँखी झ्याल’का रुपमा रहेको बताए । साहित्य र कलामा मात्र नभई विज्ञान प्रविधिको क्षेत्रमा पनि रुस अत्यन्त अगाडि रहेको उल्लेख गर्दै उहाँले इतिहास र आधुनिकताको ‘फ्युजन’ रुसी समाजमा देख्न सकिने बताए । “अझ त्यसलाई सम्झनामा रुसले प्रष्ट पारेको छ”, उनले भने, “लेखकले रुसी समाजका विशेषता तथा रुसी जनताको भावनालाई चित्रित गर्नुभएको छ ।”

पुस्तकको समीक्षा गर्दै साहित्यकार एवं राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष श्यामलले रसियाली समाजको भावना र प्रतिविम्ब तथा मूल्य प्रणाली पुस्तकमा झल्किएको बताए । “रुस बुझ्ने भनेको भूगोल मात्र होइन, त्यहाँको समाज पनि बुझ्नु हो, जुन सजिलै पुस्तकमा पाउन सकिन्छ”, उनले भने, “यो नेपाली साहित्यको अनुपम कृति हो ।”

पुस्तकका सहलेखक आचार्यले रुस आफूहरुका लागि दोस्रो मातृभूमि भएको र रुसमा अध्ययनका क्रममा भोगेका विभिन्न अनुभव समेटिएको बताए । अर्का सहलेखक डा रेग्मीले १० वर्षे रुस बसाइँका अनगिन्ती सम्झना पुस्तकमा समेटिएको बताए ।

काठमाडाैंस्थित रसियन दूतावासका मिनिस्टर काउन्सिलर एभिसिभ भेक्टर भिक्टोरोभिकले नेपाल र रुसबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पुस्तकले ठूलो भूमिका निर्वाह गर्ने बताए । नेपाल–रुस साहित्य समाजका अध्यक्ष डा चौहानले युवावस्थामा रुसमा रहँदा प्राप्त मायाको कृतिका रुपमा सम्झनामा रुस लेखिएको बताए । “यो गहिरो सम्झानाको प्रतीक हो”, उनले भने ।

प्रतिक्रिया