यान्त्रिकीकरणतर्फ अलैँची किसान

बागलुङ । उत्पादन लागत घटाई आम्दानी बढाउन बागलुङका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् ।
परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । कृषि औजार तथा उपकरणमा दिइने सरकारी अनुदानले किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अलैँची ब्लक कार्यक्रममा सम्मिलित १२ अलैँची किसानले यही साता ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो (मिनिटिलर) पाएको संयोजक भण्डारीको भनाइ छ । उनका अनुसार कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा अलैँची किसानलाई मिनिटिलर वितरण गरेको हो ।
५२ हजार रुपैयाँ पर्ने मिनिटिलर किसानले २६ हजार रुपैयाँमा पाएका हुन् । अलैँचीका बिरुवा, सिँचाइ, अलैँची सुकाउने भट्टी, त्रिपाललगायतका सामग्री किसानले ८५ प्रतिशतसम्म अनुदानमा पाउँछन् । गलकोट नगरपालिका–१ र ४ लाई समेटेर अलैँची ब्लक कार्यक्रम सञ्चालन गरिएको छ ।
वडा नं १ को चौराहा, पात्लेखोला, भण्डारवन, टोड्के, ज्यामिरे, थलिङ, भैँसे र वडा नं २ को चमुवा, खरुवा, नुवाकोटलगायतका ठाउँमा अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ ।
दुवै वडाका गरी २५० किसान अलैँची खेतीमा लागेका छन् । “करिब १० हेक्टर जतिमा अलैँची खेती छ, यो वर्ष १५ क्विन्टल उत्पादन भयो”, संयोजक भण्डारीले भने । उत्पादित अलैँचीमध्ये केही बाहिर निर्यात हुन्छ भने गलकोटमै प्याकेजिङ गरेरसमेत बिक्री गर्ने गरिएको छ ।
विसं २०५४ देखि गलकोटमा अलैँची खेती शुरु भए पनि समूहगतरूपमा विसं २०७२ देखि खेती गर्न थालिएको हो । शुरुका तीन वर्ष पकेट र त्यसपछि ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ ।
गलकोटसहित ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकालाई समेटेर अलैँची जोन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव अघि बढाइएको छ । कृषिको आधुनिकीकरणका लागि किसानलाई सीप, प्रविधि र अनुदान उपलब्ध गराउने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खाद्यान्न बालीसहित तरकारी, फलफूल खेतीमा यान्त्रिकीकरण गर्ने क्रम बढेको केन्द्रको भनाइ छ । निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बन्न यान्त्रिकीकरणले सघाउने गरेको छ । केन्द्रले कृषि समूह, सहकारी र व्यक्तिलाई अनुदानमा कृषि यन्त्र, उपकरणहरु प्रदान गर्दै आएको छ ।
किसानले आफ्नै लगानीमा समेत आधुनिक कृषि प्रणालीलाई अपनाउन थालेका छन् । सरकारी निकायले पनि कृषिमा सीप, क्षमता र प्रविधि हस्तान्तण तथा विकासका कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् । किसानले खाद्यान्न बालीतर्फ गहुँ, धान चुट्ने ‘थ्रेसर’, मकै छोडाउने ‘कर्न सेलर’, उन्नत खालको अन्न भकारी, ‘सुपर ग्रीन ब्याग’ जस्ता सामग्री अनुदानमा पाउने गरेका छन् ।
यस्तै तरकारी बालीतर्फ आरा, करौँती, ‘सिकेचर’, हजारीलगायतका औजारहरु अनुदानमा किसानलाई दिने गरिएको छ । धान बत्ताउन प्रयोग हुने पङ्खा, आधुनिक मौरी घार, महदानी, पञ्जा, टोपी जस्ता सामग्री पनि किसानले अनुदानमा पाउँछन् । (रासस)












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
प्रतिक्रिया