बुधबार, फागुन १३, २०८२

समृद्ध मुलुकका लागि महासंघले भिजन पेपर सार्वजनिक गर्ने

मेरोन्यूज २०७७ चैत १३ गते १९:२९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वस्तुगत संघहरू महासंघको ‘ब्रेन’ का रुपमा रहेको बताएका छन् । महासंघको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकमा उनले आफूहरु मुलुक समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

अध्यक्ष गोल्छाले महासंघको भिजन पेपर यही चैत २८ गते सार्वजनिक गरिने र भिजन पेपरले दिएका सुझाव कार्यान्वयनका लागि एक संयन्त्र बनाइने पनि बताए । निजी क्षेत्रले सधैँ सतही सुझाव मात्र दिन्छन् भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिने उनको भनाइ थियो ।

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने पनि दाबी गरे । बैठकले परिषद्का काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषिलगायत महत्वपूर्ण क्षेत्रलाई समेट्ने गरी विभिन्न उपसमूह बनाउने, वस्तुगत संघबाट क्षेत्रगतरुपमा सुझाव संकलन गरी सरकारमा पेश गर्न छिट्टै एक बृहद छलफल आयोजना गर्ने र परिषद्का आगामी कार्ययोजना छिट्टै तयार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया