ओली-नेपाल दुई ध्रुवमा
राष्ट्रपति–खनाल भेट : जोगिएला एमाले ?

काठमाडौं । शनिबार दिउँसो राष्ट्रपति कार्यालयबाट नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको घरमा फोन गयो–‘आज महामहिम सम्माननीय राष्ट्रपतिज्यू आउने सम्भावना छ कतै नजानु होला ।’ राष्ट्रपति भएपछि विद्यादेवी भण्डारी पहिलो पटक खनाल निवास आउने खबरले केही कौतुहलता लागेपनि खनाललाई त्यसलाई सामान्य रुपमा लिए ।
त्यहीदिन डल्लुस्थित इतिहासकार महेशराज पन्तको पुस्तकालय अवलोकन गर्ने कार्यक्रम तय गरेकी राष्ट्रपति भण्डारीले खनाल निवास पनि पुग्ने कार्यक्रम बनाइन् । दोस्रो पटक राष्ट्रपति हुने बेलमा खनालसँगै लामै कुराकानी गरेकी भण्डारीले त्यसयता अनौपचारिक कुराकानी खासै गरेकी थिइनन् । त्यतिबेला खनालले पनि राष्ट्रपतिमा इच्छा देखाएको तर नपाएपछि उनीहरुबीच तीन वर्ष यता अनौपचारिक भेटघाट र कुराकानी भएको थिएन ।
पूर्वप्रधानमन्त्रीसँगको औपचारिक भेटघाट र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादका क्रममा सामान्य कुराकानीबाहेक त्यसयता खनालसँग राष्ट्रपति भण्डारीको कुराकानी नभएको स्रोतको दावी छ । तर शनिबार भने राष्ट्रपति भण्डारीले खनालसँग करिब एक घण्टा कुराकानी गरेर फर्केकी थिइन् । खनालको स्वास्थ्य अवस्थाबाट शुरु भएको कुराकानीमा मुलुकको स्वास्थ्य अवस्था र पार्टी जीवनभित्र बिग्रदै गएको अवस्थाका बारेमा चर्चा मात्रै भएन, एमाले विभाजन हुन नदिन गरिने प्रयत्न र प्रयासमा खनालको साथ सहयोगको अपेक्षा समेत राष्ट्रपतिबाट भयो ।
‘राष्ट्रपतिज्यूले एमाले विभाजन हुनु राम्रो होइन भन्नुभयो खनालले पनि पार्टी विभाजन हुनुहुँदैन त्यसका लागि आफूहरु चिन्तित रहेको बताउनुभयो’, खनाल निकट स्रोतले भन्यो । यद्यपि खनाल आफैँले पनि राष्ट्रपतिबाट ठूला पार्टी विभाजन हुनु राम्रो होइन एमालेमा पनि त्यस्तो नहोस् भन्नुभयो भनेर शनिबार संचारकर्मीलाई बताएका थिए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई अलगअलग पार्टीको रुपमा जान भनेसँगै ‘नेकपा’ विभाजन भयो । दुईपार्टी पूर्ववत् रुपमा फर्केपछि एमालेभित्र आन्तरिक विवाद बढ्दै गएको छ ।
त्यो विवादले देशभर समानान्तर कमिटी बनाउने काम खनाल–नेपाल पक्षले गरिरहेका छन् । गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटीको बैठक राखी आफू अनुकूल निर्णय गरेपछि खनाल–नेपाल पक्षले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । सोहीअनुरुप सिंगो गण्डकी प्रदेशलगायत मुलुकका धेरै जिल्लामा समानान्तर कमिटी बनेका छन् । जसले गर्दा खनाल–नेपाल पक्षले एमालेलाई विभाजन गर्नसक्ने भय कायमै छ ।
नेपाल पक्षका केन्द्रीय सदस्य विजयकुमार पौडेलले गत हप्ता केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रस्तावअनुसार एमालेभित्र ओलीले टिक्न नदिने र आउँदो निर्वाचनमा पनि ओलीले टिकट दिने संभावना नभएकाले अर्को पार्टी खोल्नुपर्ने आशयलाई त्यही बैठकले अस्वीकार गरिदियो ।
त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टीभित्रै संघर्ष गर्ने, समानान्तर कमिटी गठन गर्ने निर्णय गर्दै दुईमहिने कार्यक्रम घोषणा गर्यो । सो निर्णयलगत्तै खनाल–नेपाल समूहले सातवटै प्रदेश इन्चार्ज तोकेर सामानान्तर कमिटी बनाउन थाल्यो । एमालेका सात लाख संगठित सदस्यमध्ये साढे तीन लाख आफ्नो पक्षमा रहेको दाबी गर्दै खनाल–नेपाल समूहले जनवर्गीय संगठनको भेलाबाट कमिटी र जिल्ला कमिटी बनाउन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अप्ठ्यारोमा परेको छ ।
ओली पक्ष अप्ठ्यारोमा परेपछि राष्ट्रपति भण्डारी पार्टी विभाजन हुन नदिने कोसिसका साथ खनाललाई भेट्न पुगेकी हुन् भन्ने अनुमान गरिएको छ । भेटको मुख्य उद्देश्य नै खनालमार्फत पार्टी विभाजन रोक्न कोसिस गर्नु, सकेसम्म खनाल निकट नेता कार्यकर्तालाई ओली समूहमै क्रियाशील गराउनु वा विरोधका आवाज मत्थर बनाउनु रहेको थियो । खनालले राष्ट्रपतिसँगको भेटका क्रममा पार्टी विभाजन हुन नदिने तर आन्तरिक संघर्ष भने जारी राख्ने जवाफ दिएका थिए ।
तत्कालीन ‘नेकपा’ विभाजन हुनुहुँदैन भनेर निकै कोसिस गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार एमालेका पूर्वअध्यक्ष एवं हालका वरिष्ठ नेता खनाल भेट्न जानुको उदेश्यपनि एमालेभित्र देखिएको विवादलाई मत्थर पार्नु नै हो । ‘उहाँले पार्टी विभाजन नहोस् भन्ने उद्देश्य राख्नु स्वाभाविक हो त्यसलाई अन्यथा मान्न मिल्दैन’, राष्ट्रपति निकट स्रोतले भन्यो । उनका अनुसार राष्ट्रपति भण्डारीमा अझै सक्रिय राजनीतिको चासो कायमै रहेको छ ।
दोस्रोपटक राष्ट्रपति बन्नु अघि भण्डारीले पूर्वराष्ट्रपतिले प्राप्त गर्ने सबै सेवासुविधा त्यागेर एमालेको पार्टी राजनीतिमा आउने प्रयास गरेकी थिइन् । उनी पार्टी राजनीतिमा प्रवेश गर्ने देखिएपछि ओली र नेपालले भण्डारीलाई पुनः राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए ।
त्यतिबेला खनाल आफूपनि राष्ट्रपति हुन चाहन्थे तर भण्डारीलाई पठाउने विषयमा ओली नेपाल एक भएपछि खनाल मौन बसेका थिए । अहिले पनि राष्ट्रपतिमा पार्टी राजनीति गर्ने र मुलुकको कार्यकारी बन्ने इच्छा कायमै रहेको उनको अभिव्यक्ति र गतिविधिबाट झल्कन्छ । पार्टी राजनीतिमा उनको लगाव कायमै रहनु र शनिबार खनाल निवास पुग्नुलाई त्यसअर्थमा पनि अर्थ्याउन थालिएको छ ।

















मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया