बिहीबार, फागुन ७, २०८२

जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमायोः सभापति देउवा

मेरोन्यूज २०७७ चैत २५ गते १३:०९

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले पार्टी र देशले योग्य नेता गुमाएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

स्वर्गीय जोशीको १३औँ पुण्यतिथिका अवसरमा कांग्रेस केन्द्रीय समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शोकसभामा बोल्दै सभापति देउवाले स्व जोशी भविष्यमा पार्टी हाँक्नसक्ने नेता भएको बताए ।

“छोटो समयमा धेरै काम गर्नसक्ने अध्ययनशील नेता जोशी हुनुहुन्थ्यो, केही समय मन्त्री हुँदा पनि देश र जनताको पक्षमा काम गरेर जोशीले आफ्नो र पार्टीको नाम उच्च राख्नुभएको थियो,” उनले भने । आगामी दिनमा कांग्रेसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको उहाँको भनाइ थियो । कांग्रेस चुनाव हार्दैमा सङ्कटमा नपरेको सभापति देउवाले बताए। लोकतन्त्रलाई संस्थागत गरेमात्र नेता जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताए । “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काँग्रेसभित्र खड्कीनेछ”, उनले भने। वरिष्ठ नेता पौडेलले स्व जोशीले विसं २०४६ को जनआन्दोलन पहिले विद्यार्थीका रुपमा र त्यसपछि कांग्रेसमा बसेर लोकतन्त्र स्थापनामा खेलेको भूमिका स्मरणयोग्य रहेको बताए ।

पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए । नेपालमा लोकतन्त्र साकार गरेमात्र स्वर्गीय जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।

कांग्रेस ललितपुरका सभापति मदन अमात्यले जोशीको निधनले सिङ्गो उपत्यकावासी शोकमा डुबेको बताए । नेता जोशी जुझारु युवा नेता भएको उहाँको भनाइ थियो । परिवारको तर्फबाट बोल्दै स्वर्गीय जोशीका दाजु एवं कांग्रेस नेता राजुराज जोशीले आफूहरु दाजुभाइ भए पनि साथीभाइ जस्तो भएर काम गरेको बताए । स्व नेताप्रति पार्टीले उच्च मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो ।

जोशीको निधनमा आज देशभरका ७७ वटै जिल्लामा शोकसभा भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया