खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ। यहाँस्थित जिल्ला अस्पतालमै पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
सेवा सुरु भएलगत्तै दुई महिलाको सफल उपचार गरिएको अस्पताल प्रमुख एवं डा अमिताब ठाकुरले जानकारी दिए । “म यहाँ आएपछि धेरै महिलाको दुःख देखेँ ।
पाठेघरसम्बन्धी समस्या भएका महिलाका लागि उपचार गर्न काठमाडौँ वा विराटनगर जानुपर्ने बाध्यता रहेछ । अब त्यो बाध्यताको अन्त्य भएको छ”, उनले भने, “हाम्रो विशेषज्ञता प्रयोग गरेर खोटाङमै निःशुल्क शल्यक्रियासहितको सेवा उपलब्ध गराएका छौँ ।”
अस्पतालमा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, बाँझोपनको उपचार र पहिलोपटक शल्यक्रियामार्फत सन्तान जन्माएकी महिलाको दोस्रोपटक पनि शल्यक्रिया गर्ने सेवासमेत सुरु गरिएको जनाइएको छ । अस्पतालमा पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचार सेवा उपलब्ध भएपछि लामो समयदेखि पीडित महिलाहरु उपचारमा आउन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्ला अस्पतालको आफ्नै स्रोत साधन उपयोग गरेर गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिए । “जिल्लामा स्त्री रोग विशेषज्ञ नहुँदा धेरै महिला रोग लुकाएर तथा बाहिर गएर उपचार गराउनुपर्ने बाध्यतामा थिए ।
यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट विशेषज्ञ चिकित्सक झिकाएका छौँ”, उनले भने, “यो जिल्लाका लागि खुशीको कुरा हो । अब कुनै पनि महिलाले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने छैन ।”
दश स्थानीय तह रहेको जिल्लामा यसअघिसम्म पाठेघरको समस्या भएका महिलाको शल्यक्रिया सेवा उपलब्ध नहुँदा अन्य जिल्ला पठाउने गरिएको थियो । अस्पताल जानेरआउने, उपचार गर्ने, खाने र बस्ने खर्च सम्बन्धित स्थानीय तहले उपलब्ध गराउनेगरी राजधानी लगायतका सुविधायुक्त अस्पतालमा पठाउने गरिएको थियो ।
हालैमात्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाले त्यस्ता समस्या भएका महिलालाई शिर मेमोरियल अस्पताल बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो । दुवै नगरपालिकाले गाडी रिजर्भ गरेर १८/१८ जना महिला तथा एक/एक जना कुरुवालाई बनेपा लगेर निःशुल्क शल्यक्रियासहितको उपचार गराएको थियो ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
प्रतिक्रिया