शनिबार, फागुन ९, २०८२

नयाँ वर्ष २०७८ आजदेखि शुरु

मेरोन्यूज २०७८ वैशाख १ गते ७:५०

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । विसं शास्त्रीय संवत हो । “सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्सर्लाइ विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् । यसलाई एक दिन अघि वा पछि पारेर बङ्गलादेश श्रीलङ्का भारततिर सम्पूर्ण राज्यहरूमा सांस्कृतिक तथा परम्परामा आधारित रहेर पनि विक्रम संवत्लाई नव वर्षको रूपमा नै मनाइन्छ । कहीँ विषु त कहीँ बैसाखी त कहीँ वसन्त भनेर मनाइन्छ ।

उत्तर, पूर्वोत्तर र पश्चिमोत्तर भारतमा पनि यो दिनमा नव वर्ष मनाइन्छ र यसैलाई सामाजिक र सांस्कृतिक मान्यता पनि दिइएको छ । विक्रम संवत् नेपालमा परापूर्व कालदेखि प्रचलनमा रहेको कुरा विभिन्न समयको शिलालेख जस्तै लिच्छविकाल, मल्लकाल आदि बाट प्रमाणित हुन्छ । तर यसलाई आधिकारिक रूपमा चलन चल्तीमा ल्याउने काम भने चन्द्रशमशेरले गरेको देखिन्छ ।

हालमा नेपालमा नागरिक प्रयोग र आधिकारिक प्रयोगमा सौर्य वर्ष विक्रम संवत् र सौर्य महिना वैशाख, ज्येष्ठ, असार, श्रावण आदि प्रयोग गरिन्छ । नेपाली पात्रोमा चन्द्र र सूर्य दुवैको स्थान वा चलनलाई गणना गरी तयार परिन्छ । यसमा विक्रम संवत् सुरु हुनु भन्दा करिब ४५० वर्ष पहिले लेखिएको ग्रन्थ सूर्य सिद्धान्तमा आधारित गणितको नियम र आधुनिक वैज्ञानिक पद्धति दुवैको प्रयोग गरिन्छ ।

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ ।यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ।यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ।

विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। विक्रम सम्बत नेपालको आदि संवत् समेत हो। विक्रम सम्बत, शाके सम्बत भन्दा १३५ वर्ष जेठो, नेपाल सम्बत भन्दा ९३६ वर्ष जेठो र ईस्वी सम्बत भन्दा ५६वर्ष ८ महिना १५ दिन जेठो छ । यस बर्ष षष्टी संवत्सरमध्ये बार्हस्पत्यमानले प्रमादी नामक संवत्सर गएर आनन्द नामको संवत्सरको प्रवेश हुनुपर्नेमा सो संवत्सर क्षय भएकोले राक्षस नामको संवत्सर प्रवेश भएको छ। -ज्याे.पं विष्णुप्रसाद खनाल

प्रतिक्रिया