एमसीसी संसद्मा पेश नगरेकोमा सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश
संसद्को गणितलाई हेर्ने हो भने एमसीसी निर्णयार्थ पेश हुनेवित्तिकै एमालेको ओली पक्ष, काग्रेस लगायतका दलको समर्थनमा पारित हुने अवस्था छ । (एमसीसीमा के-के भए नालीवेलीसहित)

फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत नगरेकोमो आक्रोश ब्यक्त गरेका छन् ।
नयाँ वर्षको अवसरमा देशवासीलाई सिंहदरवारस्थित आफ्नै कार्यालयवाट सम्वोधन गदै प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटाले एमसीसी संसदमा निर्णयार्थ पेश नगरेको भन्दै आक्रोश पोखेका हुन् ।
सभामुखको नाम नलिइकन प्रधानमन्त्रीले संविधान नमानेको आरोप लगाउँदै आक्रोश पोखेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेश गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ ।’
उर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५७ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ भदौ २९ गते एमसीसी परियोजनामा नेपाल र अमेरिकाबीच कम्प्याक्ट सम्झौता भएको थियो । सम्झौतालाई नेपालले संसद्बाट अनुमोदन गर्नुपर्ने पूर्वसर्त राखिएकाले सरकारले सम्झौता अनुमोदनका लागि त्यसपछि असार ३० मा सदनमा दर्ता गराएको थियो ।
तर सत्तारुढ दलमै यस विषयमा देखिएको असमझदारीका कारण यस अगाडीका सभामुख कृष्णवहादुर महरा र अहिलेका सभामुख अग्नि सापकोटा दुवैले संसदमा निर्णयार्थ प्रस्तुत गरेका छैनन ।
यसमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।
तत्कालिन नेकपामा एमसीसीका विषयमा अध्ययन गर्न नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल वनेको थियो । कार्यदलले सम्झौता परिमार्जन नगरी हुवहु पारित गर्न नसकिने प्रतिवेदन दिएपछि सत्तारुढ दलभित्रै यो विषय गिजोलिरहेको थियो ।
तर अहिले एमाले र माओवादी अलग दलका रुपमा अगाडी आईसकेको र एमालेभित्र ओली वलियो र प्रभावी वनिरहेका वेला प्रधानमन्त्री ओलीले फेरि एमसीसीप्रति चासो राखेका हुन् । केही दिन यता ओली पक्षका नेताहरुले जारी संसदको अधिवेशनवाटै एमसीसी पारित गराउने गरी आन्तरिक छलफल तिव्र वनाईरहेको छ ।
एमसीसीका विषयमा नेताहरुकै वीचमा मतक्यैता छैन ।
नेताहरुकै वीचमा एमसीसीका विषयमा बाझिएका मुख्य दुई विषय यस्ता छन् :
१) इन्डो–प्यासेफिक र एमसीसीको अन्तरसम्बन्धबारे
ओली पक्ष
आईपीएसको बारेमा गत वर्ष पनि पर्याप्त छलफल भएको हो, बारम्बार यस विषयलाई उठाइरहनुले हाम्रो अपरिपक्वता दर्शाउँछ । यो नाटो, टीपीपी या क्वाडजस्तो कुनै संगठन जसमा विभिन्न मुलुक सदस्य बन्छन् । यो अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिको मुख्य पाटो हो, जसका आफ्नै रणनीतिक उद्देश्य, नीति र मान्यता छन् ।
नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन र कुनै देश विशेषलाई बाहिर राख्ने गरी निर्माण हुने र तनाव निम्त्याउने गैरसैनिक गठबन्धनमा पनि संलग्न हुँदैन । अर्को मुलुकको राष्ट्रिय सुरक्षा या विदेश नीतिलाई लिएर हामी अनावश्यक रूपमा अल्झिनु उचित हुँदैन । यो आईपीएस सन् २०१७ को नोभेम्बरबाट अगाडि आएको हो । एमसीसी आईपीएएसभन्दा अलग र धेरै अगाडिदेखि नेपालले पहल गर्दै आएको विषय हो । त्यसकारण यसलाई जोडेर हेर्नु आवश्यक छैन ।
ओलीइतर पक्ष
सन् २००२ देखि नै एमसीसी तथा त्यसअन्तर्गत सञ्चालन हुने मिलेनियम च्यालेन्ज कम्प्याक्ट र मिलेनियम च्यालेन्ज अकाउन्ट अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा नीतिअन्तर्गत अगाडि बढाइएको देखिन्छ । विभिन्न समयमा अमेरिकी रक्षा मन्त्रालयद्वारा प्रकाशित सुरक्षा र रक्षा रणनीतिसम्बन्धी प्रतिवेदनहरूमा पनि उक्त कुरा उल्लेख गरिएको छ । यसले पनि देखाउँछ कि इन्डो–प्यासेफिक स्टाट्रेजी एमसीसीभन्दा पछि आएको भए पनि अमेरिकाले एमसीसीलाई अहिले त्यसैसँग जोडेको छ ।
२) सम्झौता नेपालको कानुनभन्दा माथि ?
ओली पक्ष
एमसीसी अर्काे मुलुकसँग गरिने सन्धिसरह भएकाले नेपाल सरकार पक्ष भएको कुनै सन्धिको कुरा प्रचलित कानुन बाझिएमा सो सन्धिको प्रयोजनका लागि बाझिएको हदसम्म प्रचलित कानुन अमान्य हुनेछ । सन्धिको व्यवस्था नेपाल कानुनसरह लागू हुनेछ भनेर हाम्रो सन्धि ऐनको दफा ९.१ मा स्पष्ट उल्लेख छ । त्यसैले एमसीसी नेपालको कानुनभन्दा माथि रहेको भन्ने कुरा गलत हो । बरु एमसीसीको नोगोसिएसनको बेला नेपाल र अमेरिकाको अधिकारीले २०१७ अप्रिल ५ मा हस्ताक्षर गरेको एक मेमोयरमा एमसीसी नेपालको संविधानभन्दा माथि छैन भन्ने उल्लेख भएकाले आशंकित भइरहनु आवश्यक छैन ।
ओलीइतर पक्ष
सम्झौताको धारा ७ को दफा ७.१ मा प्रस्तुत सम्झौता र नेपालको कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुने भनी उल्लेख भएको कुराबाट सम्झौता नेपालको कानुनभन्दा माथि हुने देखिएको छ । यो स्वीकार्य हुन सक्दैन । यसमा परिमार्जन गर्नुपर्छ । वर्तमान र भविष्यमा बन्ने अमेरिकी कानुन लागू हुने भनी गरिएको त्रुटिपूर्ण व्यवस्था सच्याइनुपर्छ ।
अन्य विषय
यसबाहेक पनि एमसीसी सम्झौतामा संसद्बाट अनुमोदन, संरचनामा अनिश्चितकालीन अधिकार, छनोट भएको आयोजनामा नेपालको प्राथमिकता, अमेरिकाको सुरक्षा नीति र कानुनविपरीत काम गर्न नपाउने, लेखापरीक्षण, भारतको सहमति, निर्माण टेन्डर, बौद्धिक सम्पत्ति माथिको अधिकारलगायतका विषयमा पनि नेकपाभित्र बहस छ ।
यी विषयमा पनि नेपाल हित हुने गरी परिमार्जन गर्नुपर्ने कार्यदलले प्रतिवेदनमा सुझाव दिएको छ । त्यसलाई परिमार्जनमा दाहाल–नेपाल पक्षले जोड गरिरहेको छ । तर ओली पक्ष विगतमा सरकारलै सम्झौता गर्दा कतिपय विषय मिलाउन सकिनै भए पनि ध्यान नदिएका कारण अहिलै यसैमा मात्र अल्झिरहनु नहुने पक्षमा छ ।
एमसिसि संसदमा दर्ता देखि अहिलेसम्म
– २०७४ भदौ २९ : एमसीसी परियोजनामा नेपाल र अमेरिकाबीचमा कम्प्याक्ट सम्झौतामा हस्ताक्षर ।
– २०७५ वैशाख ५ : अर्थ मन्त्रालयअन्तर्गतको विकास समितिको रूपमा एमसीए नेपालको स्थापना ।
– २०७६ असार ३० : कम्प्याक्ट सम्झौता अनुमोदनका लागि सरकारद्दारा संसद्मा प्रस्ताव दर्ता ।
– २०७६ भदौ (महिनाभर) : सम्झौता अनुमोदनका लागि सरकारको प्रयास जारी । नेकपा नेताहरू भीम रावल, देव गुरुङलगायतको विरोध । सभामुख –तत्कालीन कृष्णबहादुर महराले संसद्को कार्यसूचीमा सहमति नभई पेस गर्न अटेर ।
– २०७६ असोज ४ : असोज २ मा सकिएको संसद्को बर्खे अधिवेशनमा एमसीसी पारित गर्न नसकेकोमा प्रधानमन्त्रीको पार्टी सांसद र सभामुखसँग संसदीय दलको बैठकमा असन्तुष्टि व्यक्त ।
– २०७६ असोज २८ : लगानी तथा स्वामित्व संरचनासम्बन्धी सम्झौतामा नेपाल र भारत सरकारबीच सम्झौता । (सम्झौताको ६ वटा पूर्वसर्तमध्येको एक सम्झौता)
– २०७६ कात्तिक २ : तत्कालीन सभामुख (कृष्णबहादुर महरा) ले सरकारले टेबुल गरेको प्रस्ताव अनुमोदनका लागि प्रस्तुत नगरी कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको भन्दै प्रधानमन्त्रीको सार्वजनिक असन्तुष्टि । (त्यसबेला महरा यौन दुराचारको आरोपमा जेलमा)
– २०७६ मंसिर २९ देखि पुस ६ : नेकपा स्थायी समितिको बैठक । एमसीसी अनुमोदन गर्ने, नगर्नेमा नेताबीच चर्काे बहस । उपयुक्त निर्णय गर्ने जिम्मा पार्टी सचिवालयलाई ।
– २०७६ पुस १० : नेकपाका अध्यक्षद्वयले पार्टी केन्द्रीय नेतालाई जारी गरेको अन्तरपार्टी निर्देशन ३ मा एमसीसीका विषयमा उल्लेखित विषयले पार्टीमा फेरि विवाद ।
– २०७६ पुस २३ : वामदेव गौतम निवासमा बसेको सचिवालयका प्रधानमन्त्रीइतर बहुमत सदस्यको बैठकले केन्द्रीय समितिबाट अध्ययन कार्यदल बनाएर जाने विषयमा छलफल ।
– २०७६ माघ १५ : नेकपा केन्द्रीय समिति बैठक । छलफलको एजेन्डामा एमसीसी राख्न नेताहरूको दबाब । राजनीतिक प्रतिवेदनभित्रै छलफल गर्न सकिने भन्दै नेताहरूको प्रष्टोक्ति ।
– २०७६ माघ १९ : एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य भीम रावल र प्रदीप ज्ञवाली रहेको अध्ययन कार्यदल गठन । १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन ।
– २०७६ माघ २९ : अध्ययन कार्यदलको १० दिन म्याद थप । कार्यदलले समय मागेअनुसार थप ।
– २०७६ फागुन ९ : अध्ययन कार्यदलले बालुवाटारमा दुवै अध्यक्षलाई प्रारम्भिक प्रतिवेदन पेस । प्रतिवेदनमा कार्यदल सदस्य रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको फरक मत ।
– २०७६ फागुन १५ : नेकपा सचिवालयमा कार्यदलको प्रतिवेदनको सामान्य ब्रिफ्रिङ ।
– २०७७ वैशाख १९ : नेकपाले गोप्य राखेको अध्ययन कार्यदलको प्रतिवेदन सञ्चारमाध्यमबाट सार्वजनिक ।
– २०७७ जेठ २ : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत । कार्यक्रमको बुँदा नम्बर २११ मा एमसीसीले अगाडि बढाउने भनी तय भएको कार्यक्रम उल्लेखित ।
– २०७७ जेठ ४ : नीति कार्यक्रममा एमसीसीकै परियोजना समेटेको र जस्केलाबाट एमसीसी पास गर्ने नीति लिएको भन्दै अध्ययन कार्यदलका संयोजक झलनाथ खनाल र भीम रावलले प्रधानमन्त्रीलाई ६ पृष्ठ लामो असहमति पत्र बुझाए । उक्त पत्र अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरू र स्थायी समिति सदस्यसम्मलाई बोधार्थ दिइएको ।
– २०७७ जेठ १० : बालुवाटारमा नेकपा नेतासँग अध्ययन कार्यदल र एमसीएका प्रतिनिधिहरूले सम्झौताबारे ब्रिफ्रिङ । प्रधानमन्त्री भने अनुपस्थित ।
– २०७७ जेठ १५ : आर्थिक वर्ष २०७७÷७८ को बजेट संसद्मा पेस । बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको ५ अर्ब ७३ करोड रुपैयाँ सहयोग उल्लेख ।
– २०७७ जेठ १६ : ओली र प्रचण्ड भेटवार्ता । प्रचण्डले अन्य नेताको असन्तुष्टिका विषयमा प्रधानमन्त्रीसँग छलफल । सचिवालय बैठक बोलाउन माग ।
– २०७७ जेठ १७ : नेकपा सचिवालय बैठक । कम्प्याक्ट सम्झौता सदनबाट अनुमोदन नभएसम्म त्यसअन्तर्गतका कार्य तत्काललाई रोक्ने निर्णय ।
– २०७७ जेठ २७ : एमसीसीका विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान । तर अन्तिम समयमा प्रधानमन्त्रीले एकतर्फी बैठक स्थगित गरेको अन्य नेताको आरोप ।
– २०७७ जेठ ३२ : सचिवालय बैठक फेरि आह्वान । तर उक्त बैठक पनि एक घण्टा निर्धारित समयभन्दा एक घण्टाअघि मात्रै स्थगन ।
– २०७७ फागुन २३ : एमाले र माओवादीको एकता वदर गर्ने सर्वाेच्चको निर्णय । एमाले र माओवादी अलग दल भएपछि फेरि प्रधानमन्त्रीको एमसिसि पारित गराउने विषयमा चासो ।
– २०७७ चैत : एमसीसी संसदवाट पारित गराउन प्रधानमन्त्री निकटका नेताहरुको आन्तरिक छलफलतिव्र
– २०७८ वैशाख १ : प्रधानमन्त्री ओलीले संसदमा एमसीसी पारित गराउन निर्णयार्थ पेश नगरेकोमा सभामुखप्रति घुमाउरो शैलीमा असन्तुष्टि ब्यक्त
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया