सोमबार, फागुन ११, २०८२

कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

मेरोन्यूज २०७८ वैशाख १ गते १३:५३

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ। हाल कामपामा ३२ वटा वडा छन्। मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो। बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो।

दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

लामो समयसम्म एकै स्थानमा फोहर व्यवस्थापन हुँदा स्थानीय बासिन्दाको स्वास्थ्य, शिक्षालगायतमा प्रत्यक्ष असर गरेको भन्दै त्यहाँका नागरिकले समयसमयमा फोहर विसर्जन कार्यमा अवरोध गर्दै आएका छन्।

अध्यक्ष शाक्यले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि चैत २० गते नुवाकोट र धादिङका स्थानीयवासीसँग भएको सहमतिका बारेमा जानकारी गराएका थिए।

बैठकमा धनकुटा जिल्लाको पाख्रीबास नगरसँग भगिनी सम्बन्ध स्थापना, महानगरको राजश्व प्रशासन, कोभिडका कारण गरिएको बन्दाबन्दीका समयमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको प्रोत्साहन गर्नेलगायतका विषयमा छलफल गरिएको थियो।
रासस

प्रतिक्रिया