सोमबार, जेठ २६, २०८२

भक्तपुरका ११ पोखरीको पुनःनिर्माणसहित पानी भरियो

मेरोन्यूज २०७८ वैशाख ४ गते १०:१९

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षमा भव्यरुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्राका लागि जीर्ण भएका, पुरिएका, अतिक्रमणमा परेका र घाँसे मैदानमा परिणत भएका ऐतिहासिक पोखरीलाई पुर्नजीवन दिएको छ ।

घाँसे मैदानमा परिणत भएका पोखरीको पुनःनिर्माण, पुरिएर हराएका पोखरीको उत्खनन गरी पुनःनिर्माण र जीर्ण बनेका पोखरीको संरक्षण गरी पानी भरेर ११ वटा ऐतिहासिक पोखरी एवं २५ वटा ढुङ्गेधारालाई पुर्नजीवन दिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरपालिकामा यसअघि हराइसकेका पोखरीको समेत खोजी गरी उत्खनन गर्दै बिस्केट जात्राका लागि आवश्यक पर्ने पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार गरी पानी भरेको हो ।

नगरपालिकाले घाँसे मैदानमा परिणत वडा नं ४ को ठूलो र सानो गरी दुई वटा ऐतिहासिक निगु पुखुः अर्थात दुई पोखरी, पुरिएको दलदल बनेको विष्णु कुण्डलको पुनःनिर्माण, पुरिएर हराएको कयकुतापुखुःको उत्खनन एवं पुनःनिर्माण, बोडे–८ मा पुरिएर पार्किङ बनाएको देबु पुखुःको पार्किङ हटाएर उत्खनन गरी पुनःनिर्माण गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

त्यसैगरी बोडेकै कुमारी मन्दिर परिसरको पोखरीको पुनःनिर्माण, अतिक्रमणमा परेको पलिस्वाःपुखुःअर्थात कमलपोखरीको जीर्णोद्धार, वडा नं ७ नगदेशको गुँलापुखुः, दक्षिण बाराहीको क्वाछेँ पुखुः, वडा नं ५ भुँलाखृल पुखुः, वामुने पुखुःलगायतका पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार गरी बिस्काःजात्रालाई पानी भरिएर पुर्नजीवन दिएको हो ।

Advertisement
machhapuchare

नगर प्रमुख श्रेष्ठले नगरपालिकाले हराएका, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गे धाराको संरक्षण, इनारको संरक्षण गरेको बताए ।

नगरपालिकाले पोखरीको धमाधम उत्खनन्, जीर्णोद्धार एवं पुनःनिर्माण थालेर पानी भरेपछि मध्यपुरथिमिका टोलटोलमा पोखरीले सुन्दरता थपेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनेको नगरपालिकाका कानून अधिकृत, सूचना अधिकारी केशव सिलवालले बताए ।

नगरपालिकाले बिस्केट जात्रामा यहाँका केही मन्दिरलाई जन्जिर अर्थात बारमुक्त गरेको छ । चोरको भयले केही वर्ष अगाडि प्रसिद्ध एवं ऐतिहासिक बालकुमारी, कुमारी, लोकेश्वर मन्दिरलगायतलाई वरिपरिबाट फलामको बार लगाएर राखिएकोमा यो बिस्केट जात्राका लागि मन्दिरको जीर्णोद्धार गरी त्यस्ता बार हटाइएको छ ।

स्थानीय बासिन्दा, दाता र नगरपालिकाको सहयोगमा बालकुमारी मन्दिरको जीर्णोद्धार एवं सुनको जलपसहितको छाना राख्ने काम भएको छ ।

थिमिको बालकुमारी, कुमारी, लोकेश्वरलगायतका मन्दिरको वरिपरि राखिएको बार हटाएको बताउँदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले भने, “मन्दिरको पुनःनिर्माणसँगै चोरको भयले यहाँका ऐतिहासिक मन्दिरलाई वरिपरि फलामको बार लगाएर कुरुप बनाइएको थियो, अहिले त्यस्ता बार हटाएर मन्दिरलाई जेल मुक्तबनाएका छौँ, सुन्दर र आकर्षक बनाएका छौं ।”

यहाँका जात्रापर्वमा अत्यावश्यक पर्ने धिमे बाजा संरक्षणका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विभिन्न धिमे खल, पुचः, जिब्रो छेड्ने जात्रा, रथ पूजालगायतलाई वितरण गरेको छ ।

नगरपालिकाले थिमिको पाँच वटा विहारको पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ भने बोडेको जिब्रो छेड्ने जात्रा सञ्चालनमा ठाउँ साँघुरो हुँदा भएको समस्या समाधान गर्न जग्गासमेत खरिद गरेको छ ।

नगर प्रमुख श्रेष्ठका अनुसार बोडेको पाँचो गणेशको जिब्रो छेड्ने पाटी पछाडिको जग्गा स्थानीय जग्गाधनीसँग छलफल गरी चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा आठ आना ६४ लाख रुपैयाँ मुआब्जा दिएर नगरपालिकाले लिएको छ ।

आगामी वर्षको जात्रा अगाडि यहाँँको पाटीलाई पछाडि सारेर जिब्रो छेड्ने जात्राको ठाउँलाई फराकिलो पारिने भएको छ ।

त्यसैगरी नगरपालिकाले नगदेश लायकुसँगैको घर ४० लाख रुपैयाँ मुआब्जा दिएर खरिद गरेको छ । चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा जग्गाधनीसँग खरिद गरिएको यो जग्गासहित लायकुलाई नेवाः सङ्ग्रहालय बनाइने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले थिमि शङ्खधर चोकमा रहेको मापदण्डभित्र परेको पुरानो घरलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिएर भत्काएको छ । सो ठाउँमा नगरपालिकाले परम्परागत पार्टी र सूचना केन्द्र निर्माणको काम शुरु गरेको छ । (रासस)

प्रतिक्रिया