सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोका पुर्याइयो

काठमाडाैं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा असनबाट हनुमानढोका पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथ असनमा लगी राखिएको थियो ।
जात्राको दोस्रो दिन आज असनबाट रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिअघि लगी राखिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । बिहीबार रथ हनुमानढोकाबाट लगनटोल पुर्याइन्छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ ।
शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले बताए ।
बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको पनि उनले सुनाए । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । जसले गर्दा रथयात्रा सुरक्षितरूपमा गर्न सकिने विश्वास गरिएको छ ।
वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले राससलाई जानकारी दिए ।
एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।
रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए । पहिलो दिन रथ असन लगी पूजा आराधना सकिएपछि असनमा मङ्गलबार राति ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गरेकी थिइन् । सेतो मच्छेन्द्रनाथको रथ असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ ।
गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका समिति संयोजक नीलकाजी शाक्यले बताए ।
सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहजरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको जनाइएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समिति सचिव बज्राचार्यले सुनाए ।
रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षितरुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गरिएको छ । जात्रामा सहभागी हुनुअघि र भइसकेपछि पनि साबुन पानीले हात धुन पनि समितिले अनुरोध गरेको छ । यसका लागि रथयात्रा शुरु र अन्त्य गरिने स्थानमा प्रत्येक दिन साबुनपानीको व्यवस्था गरिएको छ ।
तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथ नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ ।









पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
प्रतिक्रिया