एमालेभित्रको एकता प्रयास असफल, सामुहिक राजीनामाको तयारीमा नेपाल समुह

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेभित्रको अन्तरिक किचलो समाधानको प्रयास असफल भएको छ । विवाद समाधानका लागि दुवै तर्फका दोस्रो तहका नेताहरुले निरन्तर वार्ता, छलफल र विभिन्न विकल्पमा गरेको प्रयासलाई दुवै समुहका मूल नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले सहज रुपमा स्वीकार गर्न नसकेपछि एमालेभित्रको एकता प्रयास असफल भएको हो ।
यो असफलताले एमालेलाई विभाजनको डिलमा पुराएको मात्रै छैन, प्रधानमन्त्री केपी ओलीले संसदमा आज लिन लागेको विश्वासको मतमा समेत ठूलै धक्का लाग्ने भएको छ ।
वलियो संगठनको जग रहेको एमालेमा फेरि एकपटक विभाजन ल्याउने भएको छ । २०५४ सालमा एमाले विभाजित भएको थियो । तर चार वर्षमै फेरि एकतावद्ध भएको एमाले त्यसयता संगठनात्मक रुपमा वलियो कम्युनिष्ट पार्टीको रुपमा रहँदै आएको थियो ।
तर ओली र नेपाल दुवै खेमाका आ आफ्नै अडानका कारण एमालेको एकता असफल निश्चितप्राय भएको हो ।
नेपाल पक्षले आज विहान ९ वजेसम्म दिएको अल्टिमेटमको कुनै जवाफ ओलीले नदिएपछि यतिवेला नेपाल पक्षका सांसदहरु सिंहदरवारमा आन्तरिक छलफलमा छन् । छलफलमा जानु अगाडी नेपाल पक्षका नेताहरुले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताएका छन्।
माधव समूहका सांसद झपट रावलले प्रधानमन्त्री केपी ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको बताए। उनले भने, ‘एमाले विभाजनको डिलमा उभिएको छ, हामी स्तब्ध भएका छौँ।’
नेपाल पक्षले ओली पक्षले एकता नचाहेको आरोप लगाएका छन् । सांसद रावलले भने,-‘एकता उहाँहरुले चाहनु नै भएको छैन। उहाँ (केपी ओली)बाट पार्टी एकताका लागि कुनै पहल प्रयत्न भएन । बरु हिजोको विज्ञप्तिबाट एकता अझै एकता भाँड्ने काम भएको छ।’
ओली पक्ष भने नेपाल पक्षले लिने रणनीति हेरेर वसेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा ओली समुहका नेताहरु पनि आन्तरिक परामर्शमा रहेका छन् ।
प्रतिक्रिया