शुक्रबार, चैत २०, २०८२

प्रहरीद्वारा हप्ता दिनमा ८ हजार ७३९ सिलिण्डर संकलन

मेरोन्यूज २०७८ जेठ ३ गते १२:५५

काठमाडौँ । नेपाल प्रहरीको सक्रियतामा देशका विभिन्न स्थानबाट पछिल्लो ८ दिनमा ८ हजार ७३९ अक्सिजन सिलिण्डर संकलन गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै प्रहरीले गत बैशाख २६ गतेदेखि अक्सिजन सिलिण्डरहरु संकलन गर्न सुरु गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीको सक्रियतामा सिलिण्डर संकलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइरहेको प्रहरीले जनाएको छ । आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेकका प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कारखाना, कवाडी, ग्यास वेल्डिङलगायतमा राखेका अक्सिजन सिलिण्डर संकलन गरी उपलब्ध गराइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको सकृयतामा पछिल्लो २४ घण्टामा ५ सय ३६ अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । तीमध्ये २३७ वटा भरिएका र २९९ खाली सिलिण्डर रहेको प्रहरीले जनाए ।

संकलन गरिएका ५३६ वटा र यसअघिको स्टक १०९ वटा गरी जम्मा ६४५ वटा सिलिण्डरमध्ये आइतबार ५८६ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका ५९ वटा अक्सिजन सिलिण्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने प्रहरीले जनाएको छ ।

विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिसँग आवश्यकताभन्दा बढी सिलिण्डर छन् भने उपलब्ध गराई सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया