महाकाली अस्पतालमा १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।
कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए ।
“यहाँ स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ वटा अक्सिजन कन्सन्ट्रेटर अहिले जडान गरियो”, उनले भने, “यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ ।”
हाल महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेको उनले जानकारी दिए ।
“युनिसेफको सहयोगमा अब अस्पतालले नै अक्सिजन आपूर्ति गर्ने भनेका छौं”, डा. श्रेष्ठले भने, “अक्सिजन आपूर्तिका लागि यहाँको निजीस्तर र स्थानीय तहबाट पनि आर्थिक सहयोग भएको छ ।”
अस्पतालको अस्थायी कोरोना अस्पताल, आइसीयू र आकस्मिक कक्षमा सङ्क्रमितको उपचार भइरहेको छ । छ शैय्या रहेको अस्पतालको आइसीयू कक्ष कोरोनाको दोस्रो लहर शुरु भएयता सङ्क्रमितले भरिभराउ छ ।
यता स्वास्थ्य कार्यालय कञ्चनपुरले कोरोना सङ्क्रमणको दोस्रो लहरमा कञ्चनपुरमा पुरुष तथा महिला गरी ११५ जनाले ज्यान गुमाइसकेको जनाएको छ । कार्यालयका प्रमुख शिवराज सुनारले जिल्लाभर हाल पाँच हजारभन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए ।
“एन्टिजेन र पिसिआर परीक्षणबाट यहाँ पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएका छन्”, उनले भने, “एक/दुई दिनयताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर न्यूनरूपमा घटिरहेको देखिन्छ ।”
उनले भारतबाट स्वदेश फर्किने नेपालीको गौरीफन्टा नाका र गड्डाचौकी नाकामा दिनहुँ कोरोना परीक्षण भइरहेको जानकारी दिए ।









जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया