मौलाकालिका मन्दिर पुग्ने केवलकारको काम शुरु

चितवन । पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम शुरु भएको छ । नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. १ देखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो । स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले केवलकार निर्माण गर्न लागेको हो ।
केवलकारका लागि सामुदायिक वनको रुख काट्ने काम आजबाट थालिएको छ । परियोजना प्रमुख ईञ्जिनीयर गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्ने छ । एक किलोमिटर दुई सय मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन् । एउटा गोन्डोलामा आठ जना अट्छन् ।
केवलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ । केवलकारको मार्गमा पर्ने एक हजार ३८ वटा रुख कटान गर्नु पर्नेछ । साउदका अनुसार जेठ मसान्तसम्ममा रुख कटानको काम सम्पन्न हुनेछ । अष्ट्रियाको गोपलमेर कम्पनीको केवलकार जडान गर्न लागिएको हो जुन चन्द्रागिरीमा समेत जडान गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार आउँदो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । उनको भनाइमा केवलकार सम्पन्न गर्न रु एक अर्ब ५० करोड लगानी हुने छ । सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो ।
नेपाल सरकारको प्रचलित नियम अनुसार सो जग्गा वापतको सोधभर्नासमेत गरेर काम अगाडि बढाइएको ढकालले जानकारी दिए । केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिनेछ । स्थानीय समेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साहित भएका छन् । ढकालका अनुसार स्थानीयको सहयोगका कारण परियोजना सहज रुपमा निर्धारित समयमै सम्पन्न गर्न सकिने छ ।
गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यहाँको पर्यटन प्रवर्द्धनमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “यसले नगर क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।” यसले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै होटल रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउने पौडेल बताउछन् ।
स्थानीय सरकारले यस्ता परियोजनालाई प्रोत्साहन गर्ने उनको भनाइ छ । उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले यो जिल्लाकै गौरवको आयोजना हुने बताए । उनले एक वर्षपछि यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार विगतका वर्षहरुको तथ्याङ्क हेर्दा वार्षिक यहाँ दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन् । उनले भने, “देशैभरिबाट दर्शनार्थी आउछन् । केवलकार बनेपछि यो सङ्ख्या अझै बढ्नेछ । ”
मन्दिर क्षेत्रमा कालिकाको मुख्य मन्दिर रहेको छ । उत्तरतर्फ भैरव मन्दिर, पश्चिममा होमनकुण्ड र चर्तुमुखी शिवालय रहेको छ । मन्दिर क्षेत्रमा १२५ जना अट्ने सभाहल, ३० जना क्षमताको धर्मशाला रहेको छ । सो ठाउँमा १७५ जनासम्म खान बस्नको व्यवस्था छ । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यहाँ तीर्थालुहरु आउने गर्दछन् ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया