शनिबार, कार्तिक २४, २०८१

वर्षौंपछि गाउँमा अस्थायी प्रहरी चौकी स्थापना, गाउँले खुशी

मेरोन्यूज २०७८ जेठ १६ गते १०:४१

डोटी । भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको सायल गाउँपालिका–१ छपालीमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।

Advertisement

अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने भन्दै त्यहाँका नागरिक निकै खुशी भएका छन् ।

गाउँमा प्रहरी चौकी नभएका कारण उक्त गाउँमा विभिन्न घटना हुने तथा शान्ति सुरक्षाका लागि निकै समस्या भएको जानकारी पाएपछि अहिले नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

उनले भने, “छपाली अलि विकट क्षेत्रमा रहेछ, प्रहरीको उपस्थिति नभएका कारण नागरिकलाई शान्ति सुरक्षा महसुस गर्न समस्या भएको खबर आएपछि अहिले प्रहरी चौकी स्थापना गरेका छौं, अब शान्ति सुरक्षा कायम हुनेछ ।”

भौगोलिक हिसाबले जिल्ला सदरमुकाम सिलगढीबाट निकै टाढा रहेको बझाङ र बैतडीको सिमानामा पर्ने छपालीमा लामो प्रयासपछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए ।

उनले भने, “छपाली वडा निकै टाढा छ, गाउँमा प्रहरी चौकी नहुँदा नागरिकलाई समस्या थियो, प्रहरी प्रशासन र हामीले गरेको लामो प्रयासपछि बल्ल अस्थायी प्रहरी चौकी स्थापना गर्न सफल भएका छौं, सबै खुशी भएका छन् ।”

अब वडामा शान्ति सुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्य तथा स्थानीयवासी धनबहादुर नेपालीले बताए ।

उक्त वडामा सामान्य झैझगडाका घटना भए पनि नागरिकले कम्तीमा तीन घण्टाको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय मौवा नगदरदहमा गएर उजुरी गर्दै आएको र अब उक्त समस्या समाधान भएको अर्का स्थानीयवासी रोहितबहादुर देउवाले बताए ।

प्रतिक्रिया