माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्ज खगराज भट्ट भन्छन् :
‘माधव नेपाल पक्षका सांसदलाई टुटाउने अस्त्र प्रयोग भयो’
पार्टी केन्द्रसँग हाम्रो कुरा नमिलेकै हो

काठमाडाैँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीमा विवाद देखिन थालेको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को विस्तार गरेपछि माओवादीमा विवाद देखिन थालेको हो ।
मुख्यमन्त्री भट्ट माओवादीतर्फबाट मुख्यमन्त्री बनेका थिए । उनले पार्टीभित्र प्रर्याप्त छलफल नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै यतिखेर माओवादी सुदूरपश्चिम प्रदेश कमिटीमा विवाद बढेको छ ।
सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्जसमेत रहेका खगराज भट्टले असन्तुष्टि सामाजिक सञ्जालमा नै व्यक्त गरेका थिए । माओवादीभित्र देखा परेको विवाद के हो ? मेरोन्युजकर्मी हरि भट्टले माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्ज खगराज भट्टसँग गरेको कुराकानी :
माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीभित्र देखिएको विवाद के हो ?
तपाईले भन्नु भएको जस्तो विवाद, विरोध केही छैन । तर, केही विधि प्रक्रिया र सर्न्दभमा हाम्रा बहस छलफल भएका हुन् । तर, धेरै चर्चा, परिचर्चा हुने खालको विवाद होइन ।
मन्त्रिपरिषद्को विस्तारका विषयमा विवाद भएको त बाहिर आएको छ नि ? तपाईं आफैले पनि सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नु भएको थियो ?
मन्त्रिपरिषद्को विस्तारका विषयमा नमिलेको एउटा मात्रै कुरा हो । हाम्रो माग के हो भने हामी संघीयतामा भएकाले स्थानीय पार्टीले अलि बढी अधिकार प्राप्त गर्नु पर्छ । यसमा केन्द्रको भूमिका समन्वायत्मक र निर्णायक भूमिका प्रदेशको हुनुपर्छ । प्रदेश सरकारको भूमिका के हुन्छ ? प्रदेशले के गर्ने, कस्तो गर्ने भन्ने कुरा अलि बढी हुने भयो । अहिलेको विशिष्ट परिस्थितीमा प्रतिगमनविरुद्धको लडाईमा हामी केन्द्रीत भएकाले के गर्दा त्यसलाई बलियो बनाउन सकिन्छ भन्ने हेर्नु पर्छ । यसमा मात्रै केन्द्र र प्रदेशका बीचमा अलिक कुरा फरक पर्न गयो । यो बुझाईमा हाम्रो र केन्द्रसँग अलि कति मिलन हुन नसकेको मात्रै हो ।
मुख्यमन्त्रीले विस्तार गर्नु भएको मन्त्रिपरिषद्मा माओवादीबाट कमले मात्र अवसर पाए भन्ने हो ?
यसमा स्वभाविक रुपमा केही कारण छन् । त्यसमा हाम्रो धेरै विमती केही थिएन । एउटा त माओवादीले मुख्यमन्त्री पाएको छ । दोस्रो संसदमा पनि संख्याको हिसाबले हामी कम छाैँ । अर्को कुरा के हो भने यति बेला सुदूरपश्चिम मात्रै एउटा यस्तो प्रदेश हो । जहाँ एमाले संस्थापन पक्षको बहुमत छैन । माधव नेपाल पक्षमा उभिएका एमालेको संसदीय दललाई अब फुटाउने, टुटाउने, तान्ने, लोभ्याउने, थर्काउने, कारबाही गर्ने यस्ता सबै अस्त्र प्रयोग भयो ।
ओली पक्षले आफ्नो पक्षमा बहुमत पुर्याउने प्रयास भइरहेको नै छ । अहिले धेरै जटिल खालको अवस्था एमालेभित्र छ । यो अवस्थामा जति सरल ओलीलाई आफ्नो मान्छे जोगाउन र टिकाउन छ, त्योभन्दा धेरै गाह्रो माधव नेपाल पक्षलाई छ । हामीले नेपाल पक्षका नेताको जटिलता, बाध्यताहरू बुझिदिनु परेको थियो । उहाँहरुको पनि आग्रह थियो । त्यसैले यस्तो भएको हो ।
मन्त्रिपरिषद् गठन हुँदा पार्टीमा छलफल भएको थिएन ?
छलफल केही पनि नभएको भन्ने होइन । अलिअलि त भएको हो । तर, जुन स्तरमा छलफल हामीले अपेक्षा गरेका थियाैँ र जुन स्तरको बहस छलफल हुनु पर्दथ्यो, सामुहिक विवेक प्रयोग गरेर हरेक विषयलाई विवेचना गरेर जुन निष्कर्षमा पुग्नु पर्ने थियो, त्यो स्तरमा भएको होइन ।
माओवादी सुदूरपश्चिम प्रदेशमा इन्चार्जविहीन छ, त्यसैले पनि विवाद देखिएको हो कि ?
अहिले देशभरिमा एमाले र माओवादी केन्द्र पुर्नजीवित भएपछि तत्कालीन माओावादी केन्दको धेरै ठाउँमा नेतृत्वविहीन छ । नेतृत्व चयन गर्ने, कमिटीलाई पूर्ण गर्ने, संगठनलाई कुन प्रकारको सिद्धान्तमा लैजाने र कुन प्रकारको विधि प्रक्रियाद्वारा सञ्चालन गर्ने, कुन मान्यताका साथ त्यसलाई अगाडि बढाउने, कुन नीति-विधिका रुपमा टुंगाउनु पर्ने र प्राविधिक रुपमा पार्टीका कमिटीलाई पूर्ण गर्ने कुरा देशव्यापी नै बाँकी छ ।
हामीले के भनेका छौँ, भने यो ढिलो भयो । जति ढिलो हुन्छ त्यति नै पार्टीलाई घाटा हुन्छ । छिटोभन्दा छिटो पार्टीका सबै स्थानीय तहदेखि केन्द्रीय समितीसम्मका सबै संरचनालाई त्यसका जनशक्तिको हिसाबले पनि कुन कुनलाई पूर्णता दिनुपर्छ त्यसलाई पूर्णता दिनुपर्छ । हाम्रो पहिचानलाई पुर्नस्थापना हुने गरी र जनताको लोकप्रियता, विश्वासनियता हाम्रो पार्टीमा हुने गरी दिनुपर्छ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशतालाई संस्थागत गर्ने गरी त्यसको रक्षाका लागि लड्ने गरी हामीले संगठन निर्माण गर्नु पर्छ । हामीले सुझाव दिएका थियाैँ । पार्टीलाई कस्तो बनाउने भनेर पार्टी अध्यक्षले सोधेका प्रश्न हामी कहाँ आएको छ । निर्णायक प्रक्रियामा जाने हो भने अझै पनि पार्टी जीवित हुन्छ ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा नयाँ इञ्चार्ज कसले पाउने सम्भावना रहेको छ ?
मलाई थाहा भएसम्म अहिलेसम्म कुनै व्यक्तिमा ठोस प्रकारको बहस छलफलल भएको छैन । नेतृत्व गर्ने गरी आकांक्षा देखाउनु भएका साथीहरु हुनुहुन्छ होला । तर, कसलाई दिने भन्ने केही पनि भएको छैन । हाम्रो सुदूरपश्चिमको हकमा मात्रै हुने कुरा पनि होइन । एकमुष्ट देशव्यापी रुपमा हुने कुरा हो । त्यो त कुनै व्यक्ति विशेषले गर्ने कुरा पनि होइन । यो पार्टी स्थायी कमिटीको औपचारीक बैठकबाट निर्णय गर्ने कुरा हो ।
कमिटीको औपचारिक बैठक बसेको छैन । यदि, बसैको छ भने पनि तत्कालीन कुनै विषयमा मात्र बसेको छ । केन्द्रीय कमिटीको बैठक अथवा स्थायी कमिटीको बैठकमा यो विषयमा छलफल हुन्छ । त्यसपछि मात्रै थाहा हुने हो ।
विगतमा लेखराज भट्ट माओवादीमा हुँदा पनि तपाईंहरूबीच अन्तरविरोध देखिएका थिए । अहिले लेखराज एमालेमा गएसँगै अन्तरविरोध त छैन होला नि ?
त्यस्तो केही छैन । विवादमा हाम्रो दुस्मनीपूर्ण भन्ने केही थिएन । विषय र परिघटनाप्रतिका हाम्रो बुझाईमा सम्झदारीमा केही भिन्नता अवश्य पनि रहेका हुन् । अब त्यो एउटा काल खण्डको कुरा भयो । यो हुनु पर्दथ्यो वा हुनु हुँदैन थियो । अब त्यसको समीक्षा गरेर केही हुँदैन । आगामी दिनमा त्यो घटनाबाट के पाठ सिक्ने भन्ने मुख्य कुरा हो ।
अन्तमा केही भन्न चाहनु हुन्छ कि ?
पहिलो कुरा पार्टीको विधि, विचार, जनस्तरमा वास्तविक रुपले भिन्न ढंगले जानुपर्छ । माओवादी नेतृत्व र माओवादी पार्टीको बारेमा जुन नकरात्मक बिम्ब अहिले बनेका छन् । ती बिम्बहरुलाई चिर्ने गरी जानु पर्छ । माओवादी पार्टीलाई अझै पनि जनस्तरमा लोकप्रिय बनाउनु पर्छ । सुदृढ, गतिशिल, व्यवस्थित जुझारु बनाउन हाम्रा कार्य दिशा, कार्य योजनाहरु केन्द्रीत गर्नु पर्छ ।
यो पनि पढ्नुहोस्
ओलीलाई चुनौती दिँदै नेपाल पक्ष

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।
















Third International Buddhist Conference to be held in Lumbini
क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया