मन्त्रिपरिषद् पुनः गठन
तीन जना उपप्रधानमन्त्री, इश्वरको पद गुम्ने
तीन उपप्रधानमन्त्रीमा क्रमश : विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो रहने ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै जनता समाजवादीका महन्थ ठाकुर पक्षका १० नेतालाई मन्त्रिपरिषदमा समावेश गरेर मन्त्रिमण्डल पुनःगठन गर्न लागेका छन् । ओलीले मन्त्रिमण्डल पुनःगठनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत हेर्दै आएका उपप्रधानमन्त्री इश्वर पोखरेलको पद गुम्ने भएको छ ।
उनी मात्रै होइन, एमाले तर्फका चार जना बाहेक सबै मन्त्री फेर्ने तयारी प्रधानमन्त्री ओलीको छ ।
ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेललाई हटाएपनि अन्य ३ जनालाई उपप्रधानमन्त्री बनाउन लागेका छन् । पहिलो वरियतामा अहिले अर्थमन्त्री रहेका विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउने छन् । त्यसपछि दोस्रो वरियतामा एमालेकै रघुवीर महासेठलाई राख्न लागिएकाे छ । महासेठकी श्रीमती जुली महतो सरकारबाट हटेपनि महासेठले दोस्रो वरियताको उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउन लागेका हुन् ।
त्यसपछि मात्रै जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतो तेस्रो वरियताको उपप्रधानमन्त्री बन्नेछन् । उनी जसपाबाट सरकारको नेतृत्व गर्दै जान लागेका हुन् । उनलाई उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।
जसपाका शरत्सिंह भण्डारीले ऊर्जा तथा जलस्रोत, अनिल झाले खानेपानी तथा सरसफाइ, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरियाले वन तथा वातावरण, चन्दा चौधरीले महिला तथा बालबालिका र एकवाल मियाँले युवा तथा खेलकूद मन्त्रालय सम्हाल्दै छन् । चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।
एमालेबाट नयाँ मन्त्रीमा शेरबहादुर तामाङको टुंगो लागेको छ । उनलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । अन्य मन्त्रीहरुका विषयमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा छलफल जारी रहेको छ । शपथ ८ बजे गर्ने तयारी भएको छ ।
प्रतिक्रिया